प्रचण्ड किन पुगे सुकुटे ?
सिन्धुपाल्चोक, पार्टीभित्र विवाद उत्कर्स बनिरहेका बेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने शुक्रबार दिउँसो सुकुटे पुगेका छन् । चितवनबाट सिधैं सिन्धुपाल्चोकको सुकुटे पुगेका प्रचण्डले भोलि (शनिबार) ‘प्रथम सुकुटे महोत्सव २०७६’ उदघाट्न गर्ने कार्यक्रम छ ।
पत्नी सीता, छोरी गंगासहित उनी चौतारा साँगाचोकगढी नगर क्षेत्रको चर्चित पर्यटकीयस्थल सुकुटेस्थित भोटेकोशी बिच रिर्सोटमा पुगेका हुन् । प्रचण्डले आफूलाई रिफ्रेस गराउन विगतदेखि नै यस ठाउँलाई रोज्दै आएका छन् ।
अहिलेसम्म सात पटकसम्म सुकुटे बिच रिर्सोट आइसकेका दाहालले यो पटक आराम गर्नका लागि अर्को स्थानको भोटेकोशी बिचलाई रोजेका हुन् । काठमाडौंबाट ६८ किलोमिटरको दूरीको पर्यटकीय गन्तव्य सुकुटे पछिल्लो समय जल पर्यटनको कारण पर्यटकीय गन्तव्य बन्दै गएको छ ।
सुकुटे महोत्सवले नेपाल पर्यटन भ्रमण वर्ष २०२० अभियानलाई सफल बनाउने र जिल्लाको सम्पूर्ण पर्यटनलाई सघाउने लक्ष्य राखेको छ । एडभेन्चरको लागि विश्वकै उत्कृष्ट भोटेकोशी र सुनकोसी नदीबाट ‘वाटर बोट’ बाट शुरु गरिने महोत्सवमा सहासिक खेल ‘एडभेन्चर’बारे बताइने छ ।
सिन्धु पर्यटन व्यवसायी संघको आयोजनामा वन तथा वातावरण पर्यटन मन्त्रालय वागमती प्रदेश, भ्रमण वर्ष २०२० सचिवालय, नेपाल पर्यटन बोर्डको सहयोग तथा स्थानीय सामाजिक युवा क्लबको समन्वयमा हुन लागेको हो । जिल्लाको पर्यटकीय क्षेत्रलाई प्रचार गर्न महोत्सवको तयारी भइरहेको आयोजक टिमका नारायण श्रेष्ठले बताए ।