अमेरिकी दूतावासको म्यानेजर हुँ भन्दै लाखौं रकम ठगी गर्ने पक्राउ

काठमाडौं, नेपालस्थित अमेरिकी दूतावासको म्यानेजर हुँ भन्दै लाखौं रकम ठगी गर्ने १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–९ ज्यामिरे घर भइ काठमाडौंको थली बस्दै आएका ४१ वर्षीय विकास भनिने केदार खड्का छन् ।

उनले आफू अमेरिकी दूतावासको एजुकेटिभ म्यानेजर हुँ भन्दै नक्कली परिचय पत्र देखाएर केही व्यक्तिलाई अमेरिका पठाइ दिने भन्दै लाखौं रकम ठगी गरेका खुलेको छ ।

पीडित पक्षबाट परेको उजुरीका आधारमा महानगरीय अपराध महाशाखाको टोलीले खड्कालाई पक्राउ गरेको हो । पक्राउ परेका खड्काविरुद्ध आवश्यक कारबाही र थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा बुझाइएको छ ।