प्रधानमन्त्री ओलीलाई शेखर कोइरालाको सुझाव : अब राजीनामा दिनुस्
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली कांग्रेसका नेता शेखर कोइरालाले भेटेर पदबाट राजीनामा दिन आग्रह गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमै प्रधानमन्त्रीले डा. कोइरालासँग गरेको भेटवार्तामा राजीनामा दिन आग्रह गरेका हुन् ।
पार्टीभित्र गम्भीर विवाद उत्पन्न भइरहेका बेला ओलीले कांग्रेस नेता कोइरालाले भेटवार्ता गरेका हुन् । बिहीबार बिहान करिब डेढ घण्टा भएको भेटवार्तामा कोइरालाले प्रधानमन्त्रीलाई राजीनामा दिन सुझाएको स्रोले जानकारी दिएको छ । जवाफमा ओलीले विपक्षी दलले राजीनामा दिन सुझाउनु स्वाभाविक भए पनि आफूविरुद्ध पार्टीभित्रैबाट षड्यन्त्र हुन थालेको गुनासो गरेका जनाइएको छ ।
कोइरालाका सहयोगी दिनेशचन्द्र थपलियाका अनुसार कोइरालाले गोकुल बाँस्कोटाको कमिसन प्रकरणमा प्रधानमन्त्री समेत जोडिएको तथा सरकारमाथि अनेकन प्रश्न चिन्ह खडा भएको भन्दै पदबाट राजीनामा दिँदा उचित हुने सुझाव प्रधानमन्त्रीलाई दिएका थिए ।
ओली पार्टीभित्र संकट देखिएपछि अहिले आफू निकटस्थसँग पनि छलफल अगाडि बढाइरहेको बताइएको छ । नेकपा सचिवालय बैठकले बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेकोमा असन्तुष्ट ओली त्यसको विपक्षमा देखिएपछि नेकपाभित्रको विवाद सहतमा मात्रै आएको छ । कतिपयले पार्टीभित्र विभाजनको रेखा समेत देखिएको टिप्पणी गर्न थालेका छन् । उनले आफूले पाँच वर्ष नै सरकारको नेतृत्व गर्ने भन्दै आफूमाथि भएको हमलाको सामना गर्ने बताएका थिए ।
यता नेकपा वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको निर्णय मान्नै पर्ने बताएका छन् । उनले पार्टीको निर्णय सबै नेता कार्यकर्ताले मान्नुपर्ने भन्दै पार्टी निर्णयको खिलापमा जाने छुट कसैलाई पनि नभएको बताएका छन् ।
उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय नेकपाको सचिवालयबाट सर्वसम्मत अनुमोदन भएको खनालको भनाइ छ । यो निर्णयमा प्रधानमन्त्रीको समर्थन रहेको तर पछि एकाएक निर्णय नमान्ने कुराले चकित बनाएको उनको भनाइ छ ।