दिल्लीमा हिंसा भड्कियो : ज्यान गुमाउने २७ पुगे, अढाई सय बढी घाइते
नयाँदिल्ली, नागरिकतासम्बन्धी नयाँ कानुनलाई लिएर भारतको राजधानी नयाँदिल्लीमा भड्किएको हिंसाका कारण ज्यान गुमाउनेको संख्या बुधबार साँझसम्म २७ पुगेको छ ।
कानुनको पक्ष–विपक्षमा उत्रिएका प्रदर्शनकारी उग्र बन्दा हिंसा भड्किएको हो । हिंसामा कम्तीमा एक २५० जना घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । घाइतेको नयाँदिल्लीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । धेरैजसोलाई गोली लागेको प्रहरीले जनाएको छ ।
प्रदर्शनकारी लाठी र बन्दुकसहित सडकमा आएपछि हिंसा भड्किएको हो । प्रदर्शन आइतबारदेखि जारी छ । प्रदर्शनकारीले लुटपाट, आगजनी र तोडफोड समेत गरेका छन् । खासगरी मुस्लिम बाहुल्य नयाँदिल्लीको उत्तरी–पूर्वी क्षेत्र हिंसाबाट बढी प्रभावित भएको जनाइएको छ ।
थप हिंसा भड्किन नदिन ठाउँ–ठाउँमा कफ्र्यु आदेश जारी गरिएको छ । प्रहरीले बुधबार नयाँदिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालको निवास बाहिर एकीकृत भिड बल प्रयोग गरी तितरबितर पारेको थियो ।
बोर्ड परीक्षा रद्द
हिंसा भड्किएका कारण नयाँदिल्लीमा परीक्षा रद्द गरिएको छ । सिबिआई बोर्डले हिंसा प्रभावित क्षेत्रमा बुधबार हुने कक्षा १० र १२ को परीक्षा रद्द गरेको हो । ‘छात्र, अभिभावक तथा शिक्षकलाई अप्ठेरो नहोस् भनेर बुधबारको परीक्षा रद्द गरिएको हो,’ बोर्डले सूचित गरेको छ । बोर्डले परीक्षाको अर्को मिति चाँडै तय गर्ने जनाएको छ ।
नरेन्द्र मोदी नेतृत्वको संघीय सरकारले सन् २०१९ डिसेम्बर ११ मा नागरिकतासम्बन्धी विवादास्पद नयाँ कानुन राज्यसभाबाट पारित गराएसँगै पक्ष र विपक्षमा ठाउँठाउँमा प्रदर्शन भइरहेका छन् ।
नयाँ कानुनमा धार्मिक आस्थाका आधारमा बंगलादेश, अफगानिस्तान र पाकिस्तानमा पीडित हिन्दु, सिख, बौद्धमार्गी, जैन, पारसी र इसाई सम्प्रदायका मानिस भारत आउन चाहे उनीहरूलाई नागरिकता दिने व्यवस्था छ । तर ती देशमा पीडित कतिपय अल्पसंख्यक स्लाम धर्माबलम्बीलाई भने कानुनले यस्तो सुविधा दिएको छैन ।
हिंसाग्रस्त इलाकामा सुरक्षाबलको मार्चपास
भारतको दिल्लीको हिंसाग्रस्त इलाकामा सुरक्षाबलले मार्चपास गरेका छन् । आन्दोलनले हिंसाको रुप लिएको उत्तर पूर्वी इलाकामा सुरक्षा बलले गरेको मार्चपासमा मुख्यमन्त्री अरविन्द केजरीवाल पनि सहभागी भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । मार्चपासमा केजरीवालसँगै उपमुख्यमन्त्री मनीष सिसोदिया पनि थिए ।
दिल्ली उच्च अदालतले बुधबार पीडित परिवारसम्म पुग्न सरकार र प्रशासनलाई निर्देशन दिएको थियो । उत्तर पूर्वी दिल्लीमा तीन दिनेदेखि भइरहेको हिंसापछि काङ्ग्रेस पार्टीकी अन्तरिम अध्यक्ष सोनिया गान्धीले बुधबार गृह मन्त्रीको राजीनामा मागेकी छिन् ।
पत्रकार सम्मेलनलाई सम्बोधित गर्दै सोनिया गान्धीले भनिन्, ‘सबै स्थितिलाई मध्यनजर गर्दै काङ्ग्रेस कार्यसमितिले हिंसाको पछाडि केन्द्र सरकार र खासगरी गृह मन्त्री जिम्मेवार रहेको निष्कर्ष निकालेको छ ।’
यता दिल्ली प्रहरीले भइरहेको हिंसाविरुद्ध १८ वटा मुद्दा दर्ता गरेको छ । यस्तै एक सय ६ जनालाई पक्राउ गरेको समाचार संस्था पीटीआईले जनाएको छ ।