कोरोनाबाट ज्यान गुमाउनेको संख्या २६ सय पुग्यो, ७७ हजार बढि संक्रमित

बेइजिङ, चीनको बुहानबाट शुरु भएको कोरोना (कोभिड–१९) भाइरसको संक्रमण विश्वव्यापी रुपमा देखिन थालेको छ । चीनको हुबेइ प्रान्तबाट गएको डिसेम्बरमा शुरु भएको कोरोना भाइरसका कारण चीनसहित विभिन्न मुलुकमा ज्यान गुमाउनेको संख्या दुई हजार ६ सय पुगिसकेको छ । कोरोना भाइरसबाट चीनमा मात्र कोरोनाबाट ७७ हजार भन्दा बढी मानिस संक्रमित छन् ।

पछिल्लो समय दक्षिण कोरिया, इटाली, इरानलगायतका देशमा पनि कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिन थालेको छ । जसका कारण मृत्यु हुनेको संख्या बढ्दै गएको छ । इटालीमा मात्र कोरोनाका कारण मृत्यु हुनेको संख्या सात पुगेको छ ।

चीन बाहेक अन्य देशमा कोरोनाका कारण २० जनाको मृत्यु भएको छ भने एक हजार दुई सय भन्दा बढी संक्रमित भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

यसैबीच चीनले कोरोना भाइरसका संक्रमण नियन्त्रणका प्रयास जारी राख्न अर्को महिना बस्ने भनिएको कम्युनिष्ट पार्टीको वार्षिक बैठक स्थगित गरेको छ । कोरोनाका कारण विश्वव्यापी शेयर बजारमा पनि गिरावट आएको छ ।

त्यसैगरी कोरोना संक्रमणको डरले लगानीकर्ताहरुले सुरक्षित स्थान खोज्न थालेपछि विश्व बजारमा सुनको मूल्य आकाशिएको छ । विश्व स्वास्थ्य संगठनले कोरोनाको सम्भावित महामारी रोक्न थप प्रभावकारी कदम चाल्नुपर्ने बताएको छ ।

भाइरसको प्रकोप महामारीको रुपमा फैलिएका देशहरुले प्रभावकारी नियन्त्रणका उपायहरु अवलम्बन गर्नुपर्ने डब्लुएचओले जनाएको छ ।

कोरियामा कोरोना संक्रमण आठको मृत्यु, ८३३ संक्रमित

नोभेम्बरको अन्त्यमा चीनको हुबेईस्थित वुहान सहरबाट फैलिएको कोरोना भाइरस अहिले ३० भन्दा बढी देशमा फैलिएको छ । पछिल्लो समयमा चीनमा संक्रमण र मृत्यु दर घटिरहेको छ भने एसियाली मुलुक दक्षिण कोरियामा निरन्तर बढिरहेको छ । इटाली, जापान, सिंगापुर, इरान र हङकङमा पनि कोरोना संक्रमितको दर बढिरहेको छ ।

पछिल्लो एक सातादेखि संक्रमितको संख्या निरन्तर बढेको दक्षिण कोरियामा सोमबार थप दुई सय ३१ संक्रमित देखिएका छन् । यससँगै दक्षिण कोरियामा कोराना संक्रमितको संख्या ८३३ पुगेको छ ।

दक्षिण कोरियामा कोरोनाबाट थप दुई जनाको मृत्यु भएको छ । सोमबारसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ । दक्षिणी क्षेत्रमा पर्ने चेङडु र डाएगु सहर कोरोनाबाट सबैभन्दा बढी प्रभावित छन् । कोरोना भाइरसको प्रकोप रोक्न राष्ट्रपति मुन जाय इनले देशभरि उच्च सतर्कता अपनाइएको बताएका छन् ।
इटालीमा चारको मृत्यु
इटालीमा कोरोना भाइरसको संक्रमणबाट सोमबारसम्म चार जनाको मृत्यु भएको छ । उत्तरी लोम्बार्डी क्षेत्रमा पछिल्लो पटक एक ८४ वर्षका वृद्धको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

लोम्बार्डीमै यसअघि अन्य तीनज नाको कोरोनाबाट मृत्यु भइसकेको छ । कोरोना संक्रमितको संख्या बढेपछि इटाली सरकारले लोम्बार्डी भेनिटोका एक दर्जन सहरलाई क्वारेन्टाइनको अवस्थामा राखेको छ ।

ती सहरको आवतजावत ठप्प छ । स्थानीय अधिकारीले बार रेस्टुरेन्ट र डिस्को बन्द गर्न आदेश दिएका छन् । इटालीमा सोमबार कोरोनाबाट थप ६७ संक्रमित भएका छन् । यससँगै इटालीमा कोरोना संक्रमितको संख्या २२४ पुगेको छ ।

कोरोनाकै कारण मिलान फेसन सप्ताह, भेनिस कार्निभल र सिरिए फुटबल खेल स्थगित गरिएका छन् । मिलानको निकै लोकप्रिय ला स्कालामा सञ्चालित ओपेराहरू रद्द गरिएका छन् । इटालीमा सबैभन्दा बढी कोरोना संक्रमितहरू लोम्बार्डीमा भेटिएका छन् । पहिलो कोरोना संक्रमित ३८ वर्षीय व्यक्तिमाथि कडा निगरानी गरिएको छ ।