भारत आइपुगे राष्ट्रपति ट्रम्प

काठमाडौं, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दुई दिने भ्रमणका क्रममा भारत पुगेका छन् । ट्रम्प सोमबार विहान अहमबाद विमानस्थलमा अवतरण भएका हुन् । ट्रम्पको स्वागतका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विमानस्थल पुगेका छन् ।

विमानस्थलबाट मोटेरा स्टेडियम सम्मको २२ किलोमिटर दूरी दुबै नेताले पूरा गर्ने छन् । यसबीचमा साबरमती आश्रममा केही बेर आराम गर्ने कार्यक्रम रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

ट्रम्पले महात्मा गान्धीलाई श्रद्धाञ्जली दिने कार्यक्रम रहेको छ । भारत भ्रमणका क्रममा ट्रम्पले अहमदाबाद, दिल्ली र आगराको भ्रमण गर्नेछन् । ट्रम्पसँगै उनकी पत्नी मेलानिया र छोरी इवान्का पनि रहेका छन् ।

भारतमा अवतरण गर्नु भन्दा केही समय पहिला अमेरिकी राष्ट्रपति ट्रम्पले हिन्दी भाषामा ट्वीट गरेका थिए । ‘हम भारत आने के लिए तत्पर हैं । हम रास्ते मे हैं कुछ ही घंटो मे्र हम सबसे मिलेंगे !’ उनले ट्वीटमा लेखेका थिए ।