तीन महिलासहित ६ जुवाडे समातिए

पर्वत,  जिल्ला प्रहरी कार्यालय पर्वतले जुवा खेलिरहेको अवस्थामा तीन महिलासहित ६ जनालाई पक्राउ परेको छ। कुस्मा नगरपालिका-६ शिवालयचोकस्थित क्षेत्रबहादुर गुरुङको घरमा जुवा खेलिरहेकाहरूलाई सुराकीको आधारमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक विकास थापाले बताए।

पक्राउ परेकाको साथबाट ७६ हजार ९ सय ६५ सय रुपैयाँ नगद बरामद भएको छ। पक्राउ पर्नेमा कुस्मा नगरपालिका ४ का पवन गुरुङ र सुन कुमारी गुरुङ, वडा नं. ५ का कुशा गुरुङ, वडा नं. ६ का धर्मराज गुरुङ र शान्ति गुरुङ तथा वडा नं. ९ का गोविन्द अधिकारी छन्।

पक्राउ परेकाहरूलाई जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरी अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय पर्वतले अवैधरूपमा हुने गतिविधिमा निगरानी बढाएको छ। यसअअघि आइतबार मात्रै कुस्मा बजारमा अवैध रूपमा उत्पादन हुँदै आएको ४५ सय लिटर घरेलु मदिरा नष्ट गरिएको थियो।