प्रधानमन्त्री ओलीले यसरी मनाए केक काटेर बर्थ डे

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले ६९ औं जन्मदिन मनाएका छन्। विक्रम संवत् २००८ साल फागनु ११ गते तेह्रथुमको आठराईमा जन्मिएका प्रधानमन्त्री ओली ६८ पूरा गरी ६९ वर्षमा प्रवेश गरेका छन्।

उनले बर्थ डे केक काटिसकेका छन् । श्रीमती राधिका शाक्यससँगै बसेर उनले बर्थ डे केक काटे । ६९ औं वर्ष प्रवेश गरेका ओलीलाई विहानै जन्मदिनको शुभकामना दिन उपप्रधानमन्त्री ईश्वर पोखरेल बालुवाटार पुगे । उनले रातो गुलाफको माला लगाइदिए ।

नेपाल कम्युनिष्ट पार्टी संसदीय दलका उपनेता सुभाषचन्द्र नेम्वाङ पनि विहानै पुगेर ओलीलाई सेतो माला लगाइदिए । नेम्वाङ ओलीका विश्वासपात्र हुन् । ओलीलाई शुभकामना दिन उनका शुभचिन्तक, आफन्त र सल्लाहकारहरु विहानै बालुवाटार पुगे । सबैसँग ओलीले सामूहिक तस्बिर समेत खिचाए ।

ओली आजै आफ्नो जन्मघर आठ राई पुग्ने कार्यक्रम रहेको छ । त्यहाँ विकास निर्माणका आयोजना शिलान्यास र उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।