प्रधानमन्त्रीले पदमा बसिरहने नैतिक हैसियत गुमाइसक्नु भयोः गगन थापा
बर्दिया । नेपाली कांग्रेसेका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले पदमा बसिरहने राजनीतिक र नैतिक हैसियत गुमाइसकेको बताएका छन् । बर्दियामा आइतबार आयोजित कार्यक्रममा सांसद थापाले निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड घुस मागेको अडियोबारे प्रधानमन्त्रीलाई दुई महिना पहिले नै थाहा थियो भन्ने सुनेको बताए ।

त्यही प्रधानमन्त्रीले बास्कोटा जस्तो प्रतिभा आफ्नो सरकारमा अरु कोही छैन भनेको भन्दै उनले भने, ‘प्रधानमन्त्रीले भन्नुभयो, गोकुल बास्कोटा एकातिर, अरु मन्त्री अर्कोतिर राखेर तौलौं, गोकुल बास्कोटाले जित्नुहुन्छ । यसो भन्दै गर्दा प्रधानमन्त्रीले के के तौलिने भन्नु भएको, मान्छे कि जम्मा गरेको धन ?’
प्रधानमन्त्रीलाई थाहा भएर पनि यो हुनुको अर्थ प्रधानमन्त्री नै संलग्न भएको आफूहरुको दाबी भएको उनले बताए । उनले अघि भने, ‘तपाईं संलग्न हुनु भएकाले गोकुल बास्कोटा जति दोषी हो, तपाईं पनि त्यति नै दोषी हो ।’
‘प्रधानमन्त्रीले भन्नुहोला, मलाई थाहा थिएन । ठीक छ’ उनले अघि भने,‘जो व्यक्ति प्रधानमन्त्रीको सबैभन्दा नजिकको छ, प्राधनमन्त्रीकै घरमा बस्छ, सरकारको प्रवक्ता छ, उसले गरेको यत्रो घोटाला थाहा छैन भने थाहा चाहिँ के छ ?’
‘त्यसैले दुवै अवस्थामा आजको दिनमा उहाँसँग प्रधानमन्त्री हुने संख्याको ताकत होला तर नेपालको प्रधानमन्त्री हुने राजनीतिक र नैतिक हैसियत गुमाइसक्नु भएको छ । जतिदिन उहाँ प्रधानमन्त्री भएर रहनुहुन्छ, त्यति अवसर गुमाउँछौं ।’

