जन्मदिन मनाउन प्रधानमन्त्री ओली तेह्रथुम जाने

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले जन्मदिन मनाउन जन्मथलो, तेह्रथुमको आठराइ गाउँपालिका जाने भएका छन् । जन्मदिन मनाउन प्रधानमन्त्री ओली हेलिकोप्टरमार्फत् आठराइ, सल्ले जान लागेको प्रधानम्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।  आज प्रधानमन्त्रीको ओलीको ६९ औं जन्मदिन हो ।  उनको जन्म २००८ साल फागुन ११ गते तेह्थुमको आठराईमा भएको हो।

उनी आज विहान त्यसतर्फ प्रस्थान गर्ने सल्लाहकार थापाले जानकारी दिए। मिर्गौला प्रत्यारोपणपूर्व जन्मथलो जाने ईच्छा भएपछि पुख्र्यौली घर रहेको स्थानमा आफ्नै खर्चमा हेलिप्याडसमेत बनाएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

गाउँपालिकाले दियो सार्वजनिक विदा

प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मदिन मनाउन तेह्रथुमको आठराई गाउँपालिकामा आज (आइतबार) सार्वजनिक बिदा दिइएको छ । गाउँपालिका कार्यालयले प्रधानमन्त्री ओली विभिन्न विकास निर्माणका कामको शिलान्यास गर्न गाउँपालिका जाने भएकाले स्थानीय बिदा दिने निर्णय गरिएको जनाएको छ । यसै अवसरमा उनले छातेढुङ्गाको सुकेपोखरी, आफ्नो जन्मघर हुँदै ताप्लेजुङ्गको ढुङ्गेसाँघुमा रहेको मदन भण्डारीको जन्म घरसम्म जोड्ने मोटरबाटोको शिलान्यास गर्ने कार्यक्रम छ ।

यस्तै जन्मघरमा हुने कार्यक्रममा उनले नेपाल बैंकको शाखा कार्यालय उद्घाटन गर्ने कार्यक्रम पनि तय भएको छ । प्रधानमन्त्रीको स्वागतका लागि गाउँपालिकाले शिक्षकहरुलाई तोकिएको पोसाकमा उपस्थित हुन निर्देशन पनि दिएको छ । प्रधानमन्त्री ओलीको जन्मदिनको अवसरमा दुई हजार विद्यार्थीलाई प्रमको तस्बिर र हस्ताक्षरसहितको डायरी र कलम तथा दुई सय वृद्धवृद्धालाई न्यानो कपडा वितरण गर्ने कार्यक्रम रहेको गाउँपालिकाले जनाएको छ ।

आठराईमा त्रिभुवन विश्वविद्यालयको एक आङ्गिकसहित दुई वटा क्याम्पस र नौ वटा माविसहित ५८ वटा विद्यालय छन् । प्रधानमन्त्री ओलीले त्यसअघि पाँचथरको कुम्यायक गाउँपालिकामा तमोर नदीबाट लिफ्टिङ प्रविधिबाट पु¥याइएको खानेपानी आयोजनाको उद्घाटन गर्ने कार्यक्रम छ ।

यस्तो छ ओलीको जन्म घर

ओली जन्मे हुर्केको घर २०७२ को भूकम्पमा चर्किएपछि मर्मत गरिएको छ । दुईतले घरको माथि सिलिङ छ । छानो खरको छ । छेउमा लामो सोतो परेको बाँसको टाटीले बेरेको खरकै छानो भएको ग्वाली (गाईबस्तु बाँध्ने घर) छ ।

छेउमा टिनको छानो भएको काठको शौचालय छ । ५० मिटर पर माच (पराल राख्ने) छ । ओलीले यो घरकै आँगनमा जोडेर बनाएको अलि ठूलो यस्तै खालको घर पनि किनेका छन् । दुवै घर र खेतबारीको रेखदेख र संरक्षणका लागि भुसाल थरको चार जनाको परिवारलाई जिम्मा दिइएको छ ।

घरको भुइँ बरन्डाको दाहिनेपट्टि एउटा गजरा राखिएको थियो, छेउमा मकैको खोसेलाको पिरा छ । ढोकाभित्र पस्ने देब्रेपटि जाँतो छ, छेउमा बाँसको ढाकी । ढोकामाथि देब्रेपट्टि सयपत्री फूल ओइलिएको अवस्थामा सिउरिएको छ भने दाहिनेपट्टि क्यालेन्डर झुण्डिएको छ । घरको तलको भाग रातो माटोले लिपेको छ भने चारैतिर भित्तामा कमेरो लगाइएको छ ।

घरको दाहिनेपट्टि लाछी (घरको पाखामा गाँसेको छानो) बनाइएको छ । जसमा दाउरा, गाईबस्तुका भाँडाकुँडा, पराल, खोसेला आदि राखिएका छन् । त्यो घरमा कोही बसेका छैनन् । संरक्षण गर्नेहरु अर्को घरमा बसेका छन् । दुवै घरका बलेंसीमा विभिन्न फूल रोपिएका छन् । छेउका पाखामा अम्रिसोका बोट छन् । सुन्तलालगायतका बोटले हरियाली छ ।