गोकुलको राजीनामापछि सञ्चार मन्त्रालयमा खतिवडा र शहरी विकासमा नेम्वाङ

काठमाडौँ,  सञ्चार तथा प्रविधिमन्त्रीको जिम्मेवारी अर्थमन्त्री समेत रहेका युवराज खतिवडाले पाएका छन् । ७० करोड कमिसन प्रकरणमा मुछिएर गोकुल प्रसाद बाँस्कोटाले मन्त्री पदबाट राजीनामा दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले खतिवडालाई सञ्चारमन्त्रीको जिम्मेवारी तोकेकी हुन् ।

बाँस्कोटाले कमिसनका लागि बार्गेनिङ गरेको अडिओ बाहिरिएपछि बिहीबार राजीनामा दिएका छन् । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा एक स्वीस एजेन्टसँग ७० करोड कमिसनको अडियो बाहिरिएपछि बाँस्कोटाले मन्त्री पद गुमाएका हुन् । यस्तै मन्त्री बाँस्कोटाले नै सम्हाल्दै आएको सहरी विकास मन्त्रालयको जिम्मेवारी भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त कुमार नेम्वाङलाई दिइएको छ ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डरीले मन्त्री खतिवडालाई सञ्चार मन्त्रालय र नेम्वाङलाई सहरी विकास मन्त्रालयको जिम्मेवारी दिएकी हुन्। प्रधानमन्त्री ओलीले समाजवादी पार्टीले सरकार छाडेपछि रिक्त भएको सहरी विकास मन्त्रालय समेत गोकुल बाँस्कोटालाई जिम्मा दिएका थिए।