सांसदको गुनासो: कर्मचारीमा सामन्ती संस्कार हटेन

काठमाडौं ,कर्मचारीकाे ब्यवहारप्रति सांसदहरूले गुनाशाे गरेका छन । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै केहि सांसदले सामन्ती राजतन्त्रको अन्त्य भएपनि सामन्ती संस्कारको अन्त्य नभएको बताएका हुन । 

सांसद इन्दुकुमारी शर्माले मुलुकबाट सामन्ती राजतन्त्रको अन्त्य भएपनि सामन्ती संस्कारको अन्त्य हुन नसकेको बताइन ।  ‘उच्च पदस्थ कर्मचारीहरुले हामी जनप्रतिनिधिहरुको सामुन्नेमै हामीसँग गएका कर्मचारीलाई तुच्छ भाषा ‘तँ तँ’ भन्ने व्यवहार प्रयोग गरेकोले मलाई दुखी बनाएको छ’, शर्माको गुनासो छ ।

उनले आफुले जनताको काम लिएर विभिन्न मन्त्रालयहरुमा जाँदा उच्चपदस्थ कर्मचारीहरुले आफ्ना मातहतका कर्मचारीहरुसँग गरेको कुराकनी र व्यवहार अत्यन्त तुच्छ भएको पाएको बताइन् ।

‘नेपालको संविधानको २०७२ को भाग ४ ग १ र ५ मा सामाजिक सांस्कृतिक रुपान्तरणसम्बन्धि नीतिमा सभ्य संस्कृतिको विकास गर्ने, समाजमा विद्यमान धर्म परम्परा तथा संस्कारहरुको नाममा हुने विभेद, असमान व्यवहार अन्त्य गर्ने भनेको छ ।

तसर्थ राज्यका सुरक्षा निकाय, न्यायलयका कर्मचारीतन्त्रभित्र आफ्ना मातहतका कर्मचारीसँग हेपाहा भाषाको प्रयोग नगरी राजा र रैतीजस्तो व्यवहार नगरी सभ्य र सम्मानजनक व्यवहार गर्न सभामुखमार्फत ध्यानाकर्षण गराउन चाहान्छु’, शर्माले संसदमार्फत ध्यानाकर्षण गराइन् ।