जाजरकाेटमा हाउसे बाघ मृत अबस्थामा फेला
जाजरकाेट, हाईना प्रजातिको हाउसे बाघ मृत अबस्थामा फेला परेको छ । भेरी नगरपालिका–११ खोदाखोलामा जंगली जनावर हाउसे बाघ मृत अबस्थामा फेला परेको हो ।
छिन्चु–जाजरकोट सडक खण्ड अन्तरगत खोदाखोलामा फेला परेको मृत हाउसेबाघलाई गाडीले हानेर मृत्यु भएको हुन सक्ने डिभिजन वन कार्यालय, जाजरकोटमा कार्यरत नायव सुब्बा रिसभदेव खनालको अनुमान छ ।
स्थानीय नागरिकले दिएको जानकारी अनुसार डिभिजन वन कार्यालयका कर्मचारी त्यहा पुग्दा हाउसे बाघको मृत्यु भईसकेको थियो नायव सुब्बा खनालले भने–‘हाउसे बाघको टाउकोमा गहिरो चोट लागेको छ ।’
मृत अबस्थामा फेला परेको हाउसे बाघलाई डिभिजन वन कार्यालयमा पुर्याएर भेरी नगरपालिकाको पशुपन्छी विकास शाखा प्रमुख रत्न डाँङ्गीले पोष्टमार्टम गरेका छन् ।
पोष्टमार्टम पश्चात मृत हाउसे बाघलाई जिल्ला प्रहरी कार्यालयका प्रतिनीधि, जिल्ला प्रशासन कार्यालयका प्रतिनीधि, पत्रकार र स्थानीयहरुको रोहवरमा डिभिजन वन कार्यालयको हाता भित्रै गाड्ने तयारी भईरहेको डिभिजन वन कार्यालय, जाजरकोटले जनाएको छ ।