फेरि सीमाक्षेत्रमा भारतको हस्तक्षेप

दार्चुला, भारतीय पक्षले दार्चुलाको व्याँस गाउँपालिकाको सीमावर्ती नेपाली भूमिमा फेरि हस्तक्षेप गरेको छ ।

भारतीय पक्षले महाकाली नदीमा एकतर्फी काठेपुल राख्नुका साथै नेपाली भूमिमै आएर डोजर प्रयोग गरी सयौं मिटर सडक खनेको छ । भारतीय पक्षले व्यास–२ को दोपखे क्षेत्रमा सीमानदी महाकालीमा काठेपुल निर्माणका साथै नेपाली भूमिको प्रयोग र प्राकृतिक साधनको दोहन गरिरहेको छ । नेपाली जंगलको प्रयोगदेखि लिएर नेपाली भूभागमै सुरक्षा गस्तीको काम भारतीय सुरक्षा बलले गरिरहेको छ ।

भारतमा सडक निर्माणको बहानामा नेपाली भूमिको दोहन तथा सडकमा प्रयोग गरिएका विस्फोटक पदार्थका कारण नेपालतर्फ गम्भीर क्षति पुगेको छ । भारतले व्यास गाउँपालिका–१ र २ को सीमावर्ती क्षेत्रमा करिब डेढ सय मिटर तथा त्यसकै अढाइ सय मिटर परको दूरीबाट करिब तीन सय मिटर सडक बनाएको पाइएको छ ।

भारतले एकतर्फी रुपमा सीमा क्षेत्रमा निर्माण गरिरहेको सडकका कारण महाकाली नदीको बहाव थुनिने, नदी क्षेत्र साँघुरिनुका साथै नेपालतर्फको घोडेटो बाटोमा समेत क्षति पुगेको छ । भारतीय पक्षले २०७४ सालमा पनि नेपाललाई जानकारी नदिई अन्तर्राष्ट्रिय सीमानदी महाकालीमा काठेपुल राखेको र नेपाली भूमिमै आएर डोजर ओसारपसार गर्न ठाउँ–ठाउँमा सडक खनेको थियो । यस पटक पनि सोही कार्य दोहो¥याएको छ तर यसबारे नेपाली पक्षलाई खासै खबर छैन ।

यसैबीच दार्चुला भ्रमणमा आएका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सोमबार बिहान कालापानी क्षेत्र आसपास हवाई निरीक्षण गरेका छन् । उनी कालापानी क्षेत्र वरैबाट फर्किए। बाक्लो हिउँका कारण हेलिकोप्टर ल्यान्ड गर्न नसकेपछि उनले व्यास क्षेत्रको पनि हवाई निरीक्षण मात्रै गर्न भ्याए ।

सीमाक्षेत्र निरीक्षणपछि सदरमुकाम खलंगामा आयोजित पत्रकार सम्मेलनमा पोखरेलले सीमाक्षेत्रमा सुरक्षा पोस्ट थप्दै जाने बताए । व्यासमा सशस्त्र प्रहरी राख्ने निर्णय भइसकेको जानकारी दिँदै उनले भने, ‘त्यस क्षेत्रमा बाह्रैमास सुरक्षाकर्मीको उपस्थिति रहनेछ ।

भारतसँग सीमाको विषयमा सरकारले कुराकानी गर्छ । सुगौली सन्धिपछि नेपाल सरकारले भारतलाई डिप्लोमेटिक नोट लेखेको यो पहिलो पटक हो । हामी भारतसँग सीमाका विषयमा आँखा जुधाएरै छलफल गर्छौं ।’ नागरिक दैनिकबाट