जिन्दगीको जंगलमा हराइरहेका मधुको मुटु छुने कथा

 

‘चार दिनसम्म पानी मात्र खाएर पनि बाँचिदोरहेछ सर ।’ रानीवनको छेउमा एक बिहान उनले मसँग भने ।

फेरि थपे, ‘जीवन साँच्चै रबर हो । निक्कै चाम्रो छ ।’ उनी अर्थात खेल क्षेत्रमा बेग्लै पहिचान निर्माण गरिसकेका गुरु तथा प्रशिक्षक मधु लामा । अचेल कहिलेकाही आफ्नै विगततिर फर्कदा गम खान्छन् ।

उनी आफ्नो अतित् सम्झन्छन् । त्यो बेला काठमाडौं गाउँजस्तो थियो । टाढा टाढा फाट्टफुट्ट घरहरु हुन्थे । उनको मात्र होइन, त्यसबेला सबै जनताको आर्थिक अवस्था कमजोर नै थियो । रानीबनकाे छेउमा रहेको उनको घरमा खाने चिज नै धेरै हुँदैनथ्यो । मधुले मसँग आफ्ना जीवनका धेरै आयामको बारेमा चर्चा गरिरहन्छन् ।

मलाई पनि उनको जीवन अनुकरणीय एक संग्रहालय जस्तो लाग्छ । त्यसैले म उनीसँग प्राय भलाकुसारी गरिरहन्छु । उनीसँग आज फेरि कुरा गर्न म एकाबिहानै रानीवन पुगेको छु । सहरमा सवारी बाक्लिदै थिए । रातभर शित र सिरोटोले पछारेको जाडोबाट काठमाडौं तंग्रिदै थियो । हुस्सु, तुवालो र प्रदुषणले ढाकेको काठमाडौंको आकाशबाट सुर्यका वैजनी किरणहरु धर्तीमा पोखिन थालेका थिए ।

‘भाइबहिनी साना थिए । अभिभावक जे भने पनि म नै थिए । करिब १२ बर्षको मात्रै थिएँ बाबा आमाको स्वर्गवास भयो । त्यसपछि सुरु भयो दुःखको हुन्डरी ।’ उनको कुराले म पनि मेरो विगततिर फर्के । लाग्यो यस्तै त हो आम नेपालीको जीवन । तर, उनको कुरा सुन्दै जाँदा लाग्यो उनको जीवनसंघर्ष र लामो संघर्षले उनले आफू र आफ्नो परिवेश बदलेको कथा धेरै बेग्लै छ ।

अचेल उनको जीवन त्यस्तो छैन, जस्तो उनले हिजो भोगे । कल्पना पनि लाग्दैन कि उनले त्यस्तो जीवन भोगेका थिए । अचेल उनकाे जीवन बदलिएकाे छ । काठमाडौंको रानीवनमा उनकाे भव्य वासस्थान छ । उनकै घरमा म उनीसँग कुरा गरिरहेको छु ।

उनी काखमा बसेको कुकुरलाई सुमसुम्याउन थाले । केहिबेर घाँटी अठिएको जस्तो भयो उनको । उनी घरी माथि रानीबनतिर हेर्छन् घरी आफैले खनेर लगाएको करेसाबारीतिर नियाल्छन । शिबपुरीको जंगलतर्फ नजर डुलाउँछन । खै के सोचे । लामो सुस्केरा हाल्दै भने, ‘जिन्दगी गजबको नलेखिएको कथा रहेछ भाइ ।’

ऊ बेला बास्ने रानीबनका कोइलीले जुनी फेरिसकेका होलान र पनि रानी रानीबनकै ठाउँमा छ । रानी बन जस्तै अजङ्ग भोगाईका पहाड बोकेर मधु हराइरहेका छन जिन्दगीको जंगलतिर…।

त्यो दिन अबिरल झरी परिरहेको थियो । नाबालक भाइ बहिनीलाइ भोक लागेछ । उनले भने, ‘दुनियामा सबैभन्दा ठूलाे उपचार भोकको उपचार हुनु हो । मेरा अगाडि बिकल्प केहि थिएन ।  म बबुराेले के गर्न सक्थेँ र । भाइबहिनीलाई पानी खाउ भोक मर्छ भनेँ । भोकको ठूलो ओखती हाम्रा सामु उभिएको पुरानो तामा गाग्रो थियो ।

घर रित्तिए पनि पानीले त्यो तामा गाग्रो रत्तिभर रित्तिन्थेन । भाईबहिनीले भोक लाग्यो भने अरू बिकल्प केही आएन । घर नजिकै एकजना बृद्धा आमा बस्थिन । उनीसँग गएर बिनौना गरेँ । मन पग्लिएछ क्यारे आम्मैको उनले कम्तीमा ७ दिन पहिले पकाएको ढिडो दिइन । जो पत्थर भन्दा साह्राे भइसकेको थियो । सातवासी ढिडो नै हाम्रो तत्काल खुसीको आहार थियो । खुसीले ४ फिट उफ्रेर लिएर घर आएँ । ओख्लोमा कुटेर तिन भाइ बहिनी बसेर खायौँ । भोक मेटियो ।’

अाँखा रसाउँदै उनी भन्छन्र, ‘आमा बुवापछि मैले सम्झने ती बृद्धा आमा पनि हुन । निक्कै सम्झन्छु उनलाइ।’

सुनाउँदा पनि गजब र सम्झदा पनि गवब लाग्छ उनकाे जीवन । जीवनको लामाे र मर्मस्पर्सी गोरेटो सम्झिन्छन । अलिबेरपछि फिस्स मुस्कुराउँछन ।

नगार्जुन नगरपालिका १ का स्थायी बासिन्दा मधु त्यो कहालीलाग्दो क्षण गजबले बताउँछन, ‘त्यो रात अबिरल झरी परिहेको थियो । बा-आमाले बनाएको खरको छानो चुहिएर भित्र र बाहिर उस्तै थियो ।

१२ बर्षका मधु आफ्ना स–साना भाई बहिनीलाई प्लाष्टिकले ओत लगाँउदै आफु निथ्रुक्क भिजिरहेको सम्झन्छन । भन्छन, ‘त्यो रात बाबा र आमा बितेको रातभन्दा बढि पीडादायक लाग्छ । चार दिनको भोक । झरी परिरहेको रात । त्यसैमा साना भाईबहिनी देख्दा मन निकै खायाे ।’

कतिपयबेला कठोर देखिने मधुका आँखाका कुना रसाउन सुरु गरे । लाग्याे सायद अक्करे पत्थर पनि रसाउँदाे रहेछ ।

बाल्यकालले सिकाएको अदभूत शिक्षा

२०२८ साल २ महिना २८ गते काठमाडौँको रानीबनमा पिता कुलबहादुर लामा र माता माइली लामाको कोखबाट जन्मिएका मधु लामा उमेरले ४ को दशक पार गरिसकेका छन । उनका जीवनका ४० दशक निक्कै बहुआयमिक बने । २८ सालमा उनी जन्मिए । २०३७ सालमा उनकी आमाको निधन भयो ।

त्यसपछि सुरु भयो मधुको संघर्षको यात्रा  । जिवन साथी गुमाएकाे बियाेगमा परेका बुवालाई सघाउँदै बाल्यकाल बित्यो । ४८ सालमा बुवाको पनि निधन भयो । त्यो बेला उनी मात्र १२ वर्षका थिए । एकातिर नाबालक भाइ बहिनी अर्कोतिर घरको सबै काम धान्नुपर्ने । जेठो हुनुको भार उनी माथि नै पर्यो ।

पढने भरपुर इच्छा हुँदाहुँदै पनि पढन सकेनन् । इच्छालाई बन्धकी राखी उनी भाइ बहिनीको पेट पाल्ने ध्याउन्नेमा लागे । बालविकास प्राथामिक बिद्यालयबाट ४ कक्षासम्मा अध्ययन गरे । बाबा आमाको निधनपछि उनको पढाइ त्यहि बिट मर्यो । उनी भन्छन्, ‘भोगाइ भन्दा अर्को ठूलो शिक्षा दुनियामा छैन रहेछ ।’

होटलमा भाँडा माझेर करियर सुरु

उनी सानै थिए । घरको सबै जिम्मा पनि उनकै हातमा थियो । भाइ बहिनी सहाल्नुपर्नेदेखि घरको सबै ब्यवहारिक काम पनि उनैले हेर्नु पथ्र्यो । चाहेर पनि उनले पढनसक्ने अबस्था थिएन । एकदिन उनको एकजना आफन्तले होटलमा भाडा माझ्ने कामको अफर लिएर आए । त्यो अफर उनका लागि निक्कै ठूलो अवसर भएको अनुभूती गरे । सहजै स्वीकारे त्यो पाल्नु र पालिनुको लागि उत्तम विकल्प थियो । त्यसपछि ठमेलको सञ्चयकोष नजिकैको एउटा होटलमा भाँडा माझ्न सुरु गरे ।

१५० रूपैयाँ तलबमा उनको जीवनको अर्को अध्याय सुरु भयो । भाँडा माझेर भाई बहिनीलाई स्कूल भर्ना गरे । त्यसैबाट बिभिन्न मान्छे चिन्ने अवसर पनि प्राप्त गरे । मधुले भाँडासँगै जीवन माझे ।

त्यही भाँडा माझेर एकदिन उनले ४ हजार जम्मा गरे । उनको रहरको अर्को पाटो घरको छानो बदल्नु थियो । त्यो ४ हजारले कुहिएको खरको छानो बदले घरमा जस्तापाता हाले । सबैभन्दा ठूलो खुसीको क्षण बन्यो त्यो दिन । गाउँलेहरु पनि छक्क परे । टुहुरो बालकले खरको छानोमा टिन हाल्यो । गाउँमा उनको प्रशंसा सुरु भयो ।

खेलक्षेत्रका गुरुप्रति नतमस्तक

उनी आफुलाई यो ठाँउसम्मा पुर्याउन ल्याई पुर्याउनमा हिरासिंह डंगोललाई ठान्छन । उनले नै आफनो जीवनको राजमार्ग फराकिलो बनाएको बताउँछन ।

उनी भन्रछन्, ‘ठमेलमा भाँडा माझिरहेको थिए । एकदिन हिरासिंह गुरुसँग भेट भयो । त्यो नै मेरो जीवनको सबैभन्दा महत्वपूर्ण भाग्य बन्यो ।’

उनले समय निकालेर कराँते सिक्न बोलाए । हिरासिंह गुरुको बोलिलाई सिरोधार्य गर्दै उनी सितोरियो कराँते सिक्न थाले । त्यसदिनदेखि उनी दिनदिनै समय निकालेर सिक्न जान थाले । खेलमा अरु भन्दा उनले बेग्लै क्षमता देखाए । हर साना प्रतियोगितामा जित्न थाले । छोटो समयमा नै उनी गुरुको आँखामा परे ।

बिस्तारै ठूला प्रतियोगितामा भाग लिन थाले । मधु कराँतेमा अब्बल बनेर देखा परे । एकदिन होटलमा भाडा माझिरहेकै थिए । डंगोल गुरु उनलाई भेटन ठमेल पुगे । उनलाई बोलाएर रंगशालमा भएको मध्यमाञ्चल स्तरीय प्रतिस्पर्धामा लिनका लागि पुगे । त्यो दिन १५० रुपैयाँ बोकी रंगशाला हान्निए । जीवनको अर्को महत्वपूर्ण कडी बन्यो त्यो दिन । उनले मेडल हात पारे राष्ट्रिय खेलमा लड्न पाउने खुसीले आल्हादित भए ।

‘गोल्डमेडल पाएको दिन बाबा आमालाई खुब सम्झिए’

‘२०४५ सालमा जनकपुरमा राष्ट्रिय खेलकुद भयो । मधुले मध्यमाञ्चलबाट भाग लिएँ । उनले त्यो खेलमा सोचेजस्तै उपाधी हात पारेँ । मेडल हात पारेको त्यो दिन बाबा र आमालाई निक्कै सम्झिएँ । गुरु हिरासिंहलाई सम्झिएँ । साेचेँ मेरो यो सफलता मेरो बाबाआमाले प्रत्यक्ष देखेको भए कति खुसी हुनुहुन्थ्यो होला ?

त्यो दिन म निक्कै रोए । गुरुलाई सम्झिए र फेरि खेल जगतमा नयाँ उचाई पकड्ने प्रतिबद्धता खाएँ । खेल क्षेत्रमा मधुको पकड बलियो बन्दै गयो । उनले बिस्तारै ४ वटा अन्तराष्ट्रिय मेडल, आधा दर्जनभन्दा बढी राष्ट्रिय मेडल करिब २ सयभन्दा बढी प्रतियोगितामा भाग लिए । उनको जीवनमा खेलजीवन नै महत्वपूर्ण राजमार्ग बनेर आयो ।

भरोसाले ल्याएको आशा

२०५८ सालमा उनी बालाजुको एउटा स्कूलमा सितोरियो कराँतेको प्रशिक्षण दिन्थे । त्यहि समयमा नारायणस्थानकी आशा लामासँग भेट भयो । अरुभन्दा बेग्लै छनक भएकी आशा मधुको जीवनको पनि आशा बनेर उदाइन । मधुको लगनशीलता र मेहनत देखेर प्रभावित आशा बिस्तारै मधुको प्रेम मोहमा परिणत भयो ।

उनले मधुलाई प्रेम गर्न थालिसकेकी थिइन । मधु पनि जानी नजानी माया गर्न थालिसकेका थिए । त्यही समयको भेट उनको जीवनको नयाँ गोरेटो बन्यो । परिचय भएको छोटै समयमा आशा तामाङ लामासँग बिहे गरे उनले । जीवनको नयाँ अध्यायमा प्रबेश गरे ।

खेलक्षेत्रमा राजनिति पसेको भन्दै चिन्ता

पछिल्लो समय खेल क्षेत्रमा राजनीति पसेको भन्दै निक्कै चिन्तामा छन मधु । उनको बुझाई छ देशलाई बलियो बनाउने खेल क्षेत्रमा राजनीति पस्नु गलत हो । राजनीतिका कारण यो अवस्थामा खेल जगतले त्यति सोचेजस्तो सफलता प्राप्त गर्न नसकेको ठम्याई छ ।

अबको जीवन सामाजिक कार्यमा बिताउँछु

पछिल्ला दिनहरु उनका सामाजिक कार्यमा बितिरहेका छन् । उनी बाबा आमाको याद मेटाउन बुढा प्रोफेसरहरुलाई नि:शुल्क भोजन गराउँछन । सामाजिक संघ संस्थामार्फत सहयोगमा तल्लिन हुन्छन । आफु जस्तै दु:ख परेकाहरुलाई देख्नै सक्दैनन । मनकारी मधु दानी भएका छन् । बिभिन्न गुम्बा, संघ संस्थाहरु मार्फत सहयोग गरिरहेका छन् । उनी आफु जस्तै बाल्यकालमा टुहुरा बनेकाहरु प्रति सबैभन्दा दिल खोलेर सहयोग गर्ने गर्छन ।