जहाज डिले हुँदा बाबुराम र प्रचण्ड बिच भलाकुसारी !

काठमाडौं  त्रिभुवन विमानस्थलबाट बिहान सात बजे उड्नुपर्ने विमानको उडान नहुँदा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईबीच भेट भएको छ।

बाबुरामले ट्वीटरमा फोटो राख्दै विमान डिले हुँदाको फाइदा भनेर लेखेका छन्। उनले लेखेका छन्, ‘७ बजे उड्नुपर्ने प्लेन १० बजेसम्म उडेको छैन! एयरपोर्टमा घण्टौं कुर्दाको फाइदा चाहिँ सबै पार्टीमा छरिएका साथीहरूसँग भेटघाट र गफगाफ गर्न पाइने! नकारभित्र सकार भनेको शायद यही हो।

अथवा चित्त बुझाउने मेसो!’ प्रचण्ड र भट्टराईसँगै गृहमन्त्री रामबहादुर थापा पनि सँगै छन्। प्रचण्ड र थापा नेकपाको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा भाग लिन बाँके जान लागेका हुन्। बाबुराम भने पोखरा जान लागेका हुन्।