विप्लवका जिल्ला सेक्रेटरीसहित दुईजना पक्राउ

गोरखा , सरकारद्वारा प्रतिवन्धित नेत्रविक्रम चन्द (विप्लव) समूहका गोरखा जिल्ला सेक्रेटरीसहित दुईजनालाई गोरखा प्रहरीले नियन्त्रणमा लिएको छ।

दाङको तुल्सीपुर उपमहानगरपालिका ५ स्थायी घर भई केही समयदेखि गोरखामा सो समूहका जिल्ला सेक्रेटरीको जिम्मेवारी सम्हालिरहेका लोकबहादुर वली (दिनेश) र गण्डकी गाउँपालिका ४ ढावे स्थायी घर भई सो समूहका जिल्ला सदस्य तथा गण्डकी गाउँपालिका इञ्चार्जको जिम्मेवारी सम्हालेका कृष्ण पन्तलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक ओम अधिकारीले जानकारी दिए।

शहीद लखन गाउँपालिका ६ घैरुङमा जनयुद्ध दिवस मनाएर फर्कदै गरेको अवस्थामा शुक्रबार पृथ्वी राजमार्गको मुग्लिन आसपासबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। लामो समयदेखि खोजीको सूचीमा रहेका उनीहरूलाई लुकिछिपी रहेको अवस्थामा पक्राउ गरिएको एसपी अधिकारीले बताए। उनीहरूको साथबाट सो समूहको राजनीतिक प्रतिवेदन, पार्टीको झण्डा, चन्दा रसिद प्याड, संकलित चन्दा नगद ३२ हजार, मोबाइल तीन थान र सिमकार्ड बरामद गरी अनुसन्धान भइरहेको उनले बताए।