महिनावारी जाँच्‍ने भन्दै ६८ छात्रालाई कपडा खोल्न लगाइयो

एजेन्सी, भारतको गुजरातस्थित एक कलेजले महिनावारी भए नभएको जाँच्न भन्दै छात्राहरूलाई कपडा खोल्न दबाब दिएको समाचार आएको छ।

समाचार एजेन्सी एएनआईले जनाएअनुसार गुजरातको भुजस्थित सहजानन्द गर्ल्स कलेजका ६८ जना छात्रालाई अन्तरवस्त्र खोल्न दबाव दिइएको हो। घटना गत बिहीबारको हो। किशोरीहरूलाई होस्टेल रेक्टर अञ्जलिबेन र अर्की महिला शिक्षिकाले बाथरुममा लाइन लगाएर अण्डरवेयर खोल्न भनेका थिए। महिला रेक्टरले प्रिन्सिपल रिता रनिङ्गासमक्ष ‘किशोरीहरूले महिनावारी नबार्ने र महिनावारी भएका बेलामा पनि भान्सामा छिरेर धार्मिक मान्यता उल्लंघन गर्ने गरेको’ गुनासो गर्दै आएकी थिइन्।

‘अञ्जलीबेनले होस्टेलको नियम नमानेको भन्दै बुधबार हामीलाई गाली गरिन्। भोलिपल्ट कक्षा चलिरहेका बेला प्रिन्सिपललाई डाकिन्। उनले पनि हामीलाई गाली गरिन्। प्रिन्सिपलले क–कसलाई महिनावारी भएको छ? भनेर सोधिन्’, छात्रामध्येकी एक दुर्गा (नाम परिवर्तन)ले भनिन्, ‘हामीमध्ये महिनावारी भएका दुईजना अलग्गिएर अर्कोतिर सर्‍यौं। त्यसपछि हामी सबैलाई लाइन लगाएर बाथरुम लगियो।

अञ्जलीबेन र अर्की महिला शिक्षिकाले हामीलाई अण्डरवेयर खोल्न अह्राए।’ ‘उनीहरूलाई हामीले ढाँट्यौं भन्‍ने लागेको होला’, उनले भनिन्, ‘अति भएपछि हामी सबै विरोधमा उत्रियौं।’ समाचार प्रकाशमा आएसँगै घटनाको चौतर्फी आलोचना सुरू भएको छ। ‘आधुनिक, वैज्ञानिक र मूल्यमान्यतामा आधारित शिक्षा पद्धतिमार्फत आत्मविकास तथा शशक्तिकरण’ नारा भएको शिक्षालयमा यस्तो घटना हुनुलाई आलोचकहरूले लज्जास्पद भनेका छन्।

समाचारमा जनाइएअनुसार अहिलेसम्म प्रहरीमा कुनै उजुरी परेको छैन। कलेज प्रशासनले अभिभावकलाई डाकेर ‘इमोसनल ब्ल्याकमेल’ गरेकाले प्रहरीमा उजुरी नदिइएको छात्रा खुसी (नाम परिवर्तन) ले बताइन्। कलेजका ट्रष्टि प्रविण पिण्डोरियाले ‘कलेजमा त्यस्तो केही भएको थिएन’ लेखिएको कागजमा जबर्जस्ती सही गर्न लगाएको पनि विद्यार्थीहरूले बताएका छन्। कलेजकी डिन दर्शना ढोलकियाले भनिन्, ‘यो होस्टेलको मामिला हो।

युनिभर्सिटीसँग यसको कुनै सम्बन्ध छैन। जे जे भयो, त्यो सबै छात्राहरूकै अनुमतिमा भएको हो। कसैले दबाव दिएको छैन। उनीहरूलाई कसैले छोएकोसम्म पनि छैन। तैपनि, हामीले आन्तरिक छानबीन समिति बनाएका छौं।’ यसबारे सोधिएको प्रश्नमा प्रिन्सिपल रिता रनिङ्गा तथा ट्रष्टि पिण्डोरियाले प्रतिकृया दिन नमानेको समाचारमा उल्लेख छ।

अर्का ट्रष्टि पिएच हिरानीले भने, ‘कलेज हातामा लक्ष्मीनारायणको मन्दिरसमेत भएकाले छात्राहरूलाई लक्ष्मीनारायण सम्प्रदायको नियम मान्न भनिएको थियो। तर बिहीबार जे भयो, राम्रो भएन। दोषीलाई कारबाही गर्छौं।’ कुच विश्वविद्यालयबाट सम्बन्धनप्राप्त उक्त कलेज भुजस्थित स्वामीनारायण मन्दिरका अनुयायीहरूले सञ्चालन गर्छन्। बिकम, बिए, बिएससी आदि विषयको अध्यापन हुने उक्त कलेजमा १५०० विद्यार्थी अध्ययनरत् छन्।

तीमध्ये दुर्गम तथा ग्रामीण क्षेत्रबाट आएका ६८ जना विद्यार्थी होस्टेलमा बस्छन्। तिनै ६८ जनालाई महिनावारी भए–नभएको परीक्षण गर्न अण्डरवेयर उतार्न भनिएको हो। स्वामीनारायण सम्प्रदायमा महिनावारी भएका महिलालाई मन्दिर र भान्सामा छिर्न बर्जित छ। त्यस्तै, महिनावारी भएका बेला अरुलाई छुन नहुने मान्यता छ।