अलपत्र पुल र सडक निर्माणार्थ लागि बुझायो ज्ञापनपत्र
संखुवासभा ,संखुवासभाको पाँचखपन नगरपालिकाले अलपत्र पुल र सडक निर्माण गर्न माग गर्दे ज्ञापन पत्र बुझाएको छ।
नगरपालिकाले हेँवा खोला पुल निर्माण र चैनपुर–बाह्रबिसे सडक तत्काल मर्मत गर्नका लागि सम्बन्धित निकायलाई ज्ञापन पत्र बुझाएको हो। शुक्रबार नगरपालिकाका प्रमुख, उपप्रमुख, वडाध्यक्षहरू र कार्यपालिका सदस्यहरुको उपस्थितिमा सडक डिभिजन तुम्लिङटार र पूर्वाधार विकास खाँदबारीको कार्यालयमा ज्ञापनपत्र बुझाएको नगरप्रमुख विपीन राईले जानकारी दिए।
पुष्पाञ्जली कन्स्ट्रक्सनले २०७२ सालमा निर्माणको जिम्मा लिएको भए पनि हालसम्म पुल निर्माण हुन नसकेको भन्दै सम्बन्धित निर्माण कम्पनीलाई तुरन्त काम गर्न वा अर्को कम्पनीलाई काम गर्न लगाउनु पर्ने भन्दै नगरपालिकाले ज्ञापन पत्र बुझाएको नगरप्रमुख राईले बताए। पुल निर्माण नहुँदा वर्षायाम लागेसँगै पाँचखपन र चैनपुर नगरपालिका तथा अन्य जिल्ला आवतजावतका लागि समस्या हुने गरेको छ।
यस्तै, चैनपुर–बाह्रबिसे सडक मर्मतमा लापरबाही भएको, कसले र कति सडकखण्ड मर्मत गर्ने भन्ने कुनै जानकारीसमेत नभएकाले उक्त सडकखण्डमा काम गर्ने निर्माण कम्पनी र सम्बन्धित व्यक्तिलाई जवाफको माग गर्दै ज्ञापनपत्र बुझाएको हो। सडकका विभिन्न स्थानमा अव्यवस्थित तरिकाले निर्माण सामग्री राखिएकोले सवारी आवागमनमा समेत समस्या हुनेगरेको नगरपालिकाले जनाएको छ।