अमेरिकी सैन्य शिविरमा रकेट आक्रमण

अर्बिल, इराकस्थित एक अमेरिकी सैन्य शिविरमा रकेट आक्रमण भएको छ । इराकको उत्तरी किर्कुक शहरमा अमेरिकी सैनिक रहेको शिविरलाई लक्षित गरी कट्युसा रकेट आक्रमण भएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

अमेरिकी सैनिक तथा इराकी सुरक्षा फौज समेत रहेको के १ शिविरमा गराइएको रकेट आक्रमणमा कुनै मानवीय क्षति नभएको समाचारमा जनाइएको छ । शिविरबाट ५ किलोमिटर टाढाबाट रकेट आक्रमण भएको जनाइएपनि कुन समूहले आक्रमण गराएको भन्ने स्पष्ट भइसकेको छैन ।

यसअघि गत डिसेम्बर महिनाको अन्त्यतिर पनि यही सैनिक शिविरमा रकेट आक्रमण हुँदा एक अमेरिकी ठेकेदार मारिएका थिए । ती सैनिक ठेकेदार मारिनुमा इरानको हात रहेको भन्दै यही वर्षको शुरुमा अमेरिकी सेनाले राजधानी बगदादमा गरेको कारवाहीमा इरानका शक्तिशाली सैनिक अधिकारी कसिम सुलेमानीको ज्यान गएको थियो ।

त्यसयता इराकमा रहेका अमेरिकी सैनिक शिविरलाई लक्षित गरी बेलाबेला रकेट आक्रमण हुँदै आएका छन् ।