गिरिजाले ठूल्‍ठूला आक्रमण गर्नुस् भन्‍नुहुन्थ्यो : दाहाल

काठमाडौँ , नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले ‘जनयुद्ध’ का बेला कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले ठूल्ठूला आक्रमण गर्न सुझाएको खुलासा गरेका छन् । तत्कालीन नेकपा (माओवादी)ले सञ्‍चालन गरेको ‘जनयुद्ध’ दिवसको अवसरमा बिहीबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित श्रद्धाञ्‍जलीसभामा दाहालले जनआन्दोलन र जनयुद्ध सँगै चलेको समयमा पूर्वप्रधानमन्‍त्री एवं कांग्रेस सभापति कोइरालाले आक्रमणलाई मजबुत बनाउन भनेको कुरा स्मरण गराएका हुन् ।

‘नेपाली कांग्रेसका तत्कालीन नेता दिवंगत गिरिजाप्रसाद कोइराला र मेरो बीचमा दिनदिनै जस्तो कुरा हुन्थ्यो र उहाँले ठूल्ठूला आक्रमण बढाउनु पर्‍यो भन्‍नुहुन्‍थ्यो मलाई। फौजी आक्रमण अलि बढाइदिनुपर्‍यो,’ उनले सम्झे, ‘सदरमुकाम हान्‍नुपर्‍यो भन्‍नुहुन्‍थ्यो, यो बडो विचित्रको कुरा हुन्थ्यो।’ अध्यक्ष दाहालले दलहरुबीचको विचित्रको संयोगले राजतन्त्र अवसान गर्ने वातावरण बनेको र देश संघीय गणतन्त्रमा आउन सफल भएको बताए।

अध्यक्ष दाहालले तत्कालीन एमाले र माओवादीबीच संविधान निर्माणतर्फ जाने भन्‍ने सहमतिकै जगमा कांग्रेससँग पनि मिल्न पुगेको बताए। देशमा एकातिर जनयुद्ध र अर्कोतिर शान्तिपूर्ण जनआन्दोलन तत्कालीन ७ राजनीतिक दल र तत्कालीन नेकपा (माओवादी)को समझदारीमा भएको दाहालको भनाइ थियो। दलहरुबीच फरक किसिमबाट बनेको एकताले देशमा संविधान निर्माण र संघीयता आएको उनले बताए।

अध्यक्ष दाहालले विश्‍वका अन्य मुलुकमा शान्ति प्रक्रिया पूरा हुन नसकेको र विद्रोहका प्रमुख नेता नै मारिएको उल्लेख गरे। उनले आफूहरु शौभाग्यशाली भएर नेपालमा सशस्त्र विद्रोहलाई शान्तिपूर्ण वातावरणमा ल्याउन सफल भएको दाबी गरे।

अध्यक्ष दाहालले जनयुद्ध र जनआन्दोलनको बलमा शान्ति प्रक्रिया हुँदै समाजवादको आधार निर्माणतर्फ मुलुक अघि बढेकाले अब जनयुद्धको नक्कल गरेर विद्रोह सम्भव नहुने बताएका छन् । उनले जनयुद्ध र विद्रोह एक ऐतिहासिक तथा विशिष्ट परिस्थितिमा जनताको आवश्यकता र नेतृत्वको सही विचारका आधारमा हुने भएकाले अब जनयुद्धको नक्कल हुन नसक्ने स्पष्ट गरेका हुन् ।प्रतिबन्धित नेकपा नेत्रविक्रम चन्द समूहलाई लक्षित गर्दै दाहालले भने, ‘कहिलेकाहीं आफैआफै भएजस्तै गर्छन् केही व्यक्ति। केही नक्कल गर्न लागेका छन्।’

तत्कालीन नेकपा (माओवादी)ले विसं २०५२ फागुन १ गते गणतन्त्र स्थापनाको लक्ष्यसहित जनयुुद्धको आरम्भ गरेको थियो । विश्व कम्युनिष्ट आन्दोलनका उपलब्धि र क्षतिका अनुभवबारे चर्चा गर्दै उनले क्रान्ति कुनै आयात या निर्यात गर्ने विषय नभएकाले यसलाई हरेक देशको ऐतिहासिक आवश्यकता र मौलिकताका आधारमा हेर्न आग्रह गरे ।
त्यस्तै नेकपाका उपाध्यक्ष वामदेव गौतमले जनयुद्ध जनताको मुक्ति र समृद्धिका लागि भएको बताएका छन्। उपाध्यक्ष गौतमले नेपालको जनयुद्धमा भएको बलिदान जति विश्‍वमै कहीं नभएको बताए।

आफूहरुको उद्देश्य सामन्तवादको समाप्त र दलाल पुँजीवादलाई राष्ट्रिय पुँजीवाद बनाउने बाटोमा अग्रसर भएको पनि उपाध्यक्ष गौतमले बताए। ‘हामी लोकतान्त्रिक पद्धतिको माध्यमबाट समाजवाद स्थापना गर्ने बाटोमा लाग्दैछौं। हाम्रो अभ्यास नयाँ हो।’

गल्ती कमजोरी नगरी कोही पनि अगाडि बढ्न नसक्‍ने भन्दै पार्टीभित्र देखिएका अन्तरविरोधहरु छिट्टै हल हुने पनि उनले बताए।जनयुद्धका क्रममा तत्कालीन एमालेले पनि ठूलो क्षति बेहोर्नुपरेको गौतमले बताए। ‘जनयुद्धको क्रममा ३ सयभन्दा बढी एमाले कार्यकर्ताले रगत बगाएका छन्। जे नहुनुपर्ने थियो, त्यो भयो,’ गौतमले भने।

कार्यक्रममा शहीदहरुप्रति श्रद्धाञ्जलि व्यक्त गरिएको थियो । तत्कालीन एमाले र माओवादी केन्द्रबीच गत २०७५ जेठ ३ गते एकता भएपछि हरेक फागुन १ लाई ‘जनआन्दोलन र जनयुद्धका शहीदको स्मृतिमा बिहीबार आयोजित श्रद्धाञ्जलिसभा’ का रुपमा मनाउन थालिएको छ । कार्यक्रममा नेकपा उपाध्यक्ष गौतम, महासचिव विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्‍त्री प्रदीप ज्ञवाली, नेताहरु अमृत बोहरा, युवराज ज्ञवाली, पम्फा भुसाल लगायत नेताहरु तथा कार्यकर्ताहरुको उपस्थिति थियो।