किन गएनन् प्रधानमन्त्री ओली ‘जनयुद्ध’ दिवसको कार्यक्रममा

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले २५ औं जनयुद्ध दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित भएपछि नेकपा वृत्तमा चर्चा चलिरहेको छ ।

तत्कालीन नेकपा माओवादीले १ फागुन २०५२ मा जनयुद्ध घोषणा गरेको सन्दर्भ पारेर नेकपाले फागुन १ मा जनयुद्ध दिवस मनाउँदै आएको छ । २५ औं जनयुद्ध दिवसको अवसरमा नेकपाले बिहीबार पार्टी मुख्यालय धुम्बाराहीमा विशेष कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल (प्रचण्ड) सहित शीर्ष नेता सहभागी हुने भनिएको थियो ।

तर, प्रधानमन्त्री ओली भने धुम्बाराही गएनन् । कार्यक्रममा पूर्व एमाले तर्फका नेताहरुको भने सहभागीता रहेको थियो । तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण भएपछि बनेको नेकपाले गत वर्ष पनि जनयुद्ध दिवसको अवसरमा विशेष कार्यक्रम आयोजना गरेको थियो । तर, ओली गत वर्षको कार्यक्रममा पनि अनुपस्थित भएका थिए ।

‘जनयुद्ध’ अस्वीकार ! ओली कार्यक्रममा अनुपस्थित भएसँगै सामाजिक सञ्जालमा यसबारे बहस भएको छ । पूर्व माओवादी पक्षका नेता कार्यकर्ताले कार्यक्रममा ओलीको अनुपस्थितीको आलोचना गरेका छन् । केहीले भने अस्वस्थताको कारण भएको हुनसक्ने बताउँदै आएका छन् । कतिपयले भने दुई पार्टी बीच एकता भएको भएपनि पूर्व एमाले पक्षधरले तत्कालीन माओवादीले गरेको ‘जनयुद्ध’लाई स्वीकार गर्न नसकेको भन्दै टिप्पणीसमेत गरेका छन् ।

प्रचण्डको सुझाव प्रचण्ड निकटका मानिने नेकपाका नेता हरिबोल गजुरेलले प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओली स्वास्थस्थितिका कारण कार्यक्रममा सहभागी नभएको बताए । उनका अनुसार अध्यक्ष प्रचण्डले नै अर्का अध्यक्ष ओलीलाई ‘तपाईं जानु पर्दैन’ भनेर भनेका थिए ।

नेता गजुरेलले भने,‘यसपालि अध्यक्ष प्रचण्डले नै तपाईं जानुपर्दैन भनेर भन्नुभएको थियो । तैपनि प्रधानमन्त्रीले म जान्छु भन्नु भएको थियो । मैले जानेसम्म स्वास्थ्य ठिक नभएर उहाँ अनुपस्थित हुनुभएको हो ।’ त्यस्तै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने अरु नै पूर्वनिर्धारित कार्यक्रम भएका कारण प्रधानमन्त्री कार्यक्रममा उपस्थित हुन नसकेका हुन् । उनका अनुसार उक्त कार्यक्रममा प्रधानमन्त्री सहभागी हुने भनेर सचिवालयको तर्फबाट नभनिएको बताए । त्यस्तै नेकपाका नेता दिनानाथ शर्मामाले पनि प्रधानमन्त्री ओली जनयुद्ध दिवसको कार्यक्रममा सहभागी हुन नसक्नु स्वास्थ्यको कारण भएको बताउँछन् ।