हतियार बोकेको सेनाको ट्रक चोरखोलामा खस्यो : एकको मृत्यु, ६ घाइते

काठमाडौं, सल्यानको कपुरकोट ३ चोरखालामा नेपाली सेनाको ट्रक (वानटन) दुर्घटना भएको छ ।  दुर्घटनामा परि जमदार यादवप्रसाद घरेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवक्ता उमाकान्त जोशीले जानकारी दिए । दुर्घटनामा परी मेजर ईश्वर सिलवाल,सिपाहीहरू विशाल गुरुङ, रेशम हिटन मगर,विपिन श्रेष्ठ, हवल्दारद्वय जय प्रकाश बोहरा र मोहन थापासहित ६ जना गम्भीर घाइते भएका छन् ।

कपुरकोट गाउँपालिका वडा नम्बर ३ चोरखोलामा ट्रक झन्डै ५ सय मिटर तल खसेको छ। गाडीमा ७ जनामात्रै सवार रहेको प्रहरीले बताएको छ। राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचाररत घाइते सेनालाई थप उपचारका लागि सेनाको हेलिकप्टरबाट काठमाडौं लगिएको छ।

सल्यानको सवुज गणबाट बुटवलतर्फ हातहतियार र विष्फोटक प्रदार्थ लगेर जाँदै गरेको लु १ ग १२३ नम्बरको ट्रक बुधबार दिउँसो साढे ४ बजेतिर दुर्घटनामा परेको हो।