दिल्ली विधान सभा- आम आदमी ६२, भाजपा आठ स्थानमा विजयी

भारतको नयाँ दिल्लीमा विधान सभाका लागि भएको निर्वाचनमा आम आदमी पार्टी (आप) ले मङ्गलबार सम्पन्न मतगणनामा ६२ सीटमा विजयी भएको छ। त्यस्तै भारतीय जनता पाटी (भाजपा) ले आठ स्थानमा विजय हाँसिल गरेको छ। प्रतिशतका आधारमा आपले ८८.५७ प्रतिशत सीट ल्याएको छ भने भाजपाले ११.४३ प्रतिशत सीट जितेको छ।

कूल ७० सीटको विधान सभामा आपले कूल ६२ सीटमा विजय गरेको छ भने भाजपाले जम्मा आठ स्थानमा जीत निकालेको छ भने केन्द्रमा प्रमुख प्रतिपक्षी दल भारतीय काङ्ग्रेसले कुनै पनि स्थान सुरक्षित गर्न सकेन। यस अघि सन् २०१५ को विधान सभामा आपले ६७ सीट जितेको थियो भने भाजपाले तीन सीट ल्याएको थियो। मङ्गलबार सम्पन्न निर्वाचन परिणामको नतिजालाई भारतीय निर्वाचन आयोगका अधिकारीहरूले पुष्टि गरेका छन्। परिणामलाई निर्वाचन आयोगको वेबसाइटमार्फत सार्वजनिक गरिएको छ।

दिल्ली विधान सभामा कङ्ग्रेसले मतगणनाको प्रारम्भिक चरणमा एक दुई स्थानमा अग्रता लिए पनि यो धेरै समय टिक्न सकेन। कडा सुरक्षाको बीचमा शहरभरिका २१ केन्द्रहरूमा मतगणना गरिएको थियो। निर्वाचन आयोगको साँझ ९ः३० बजे सम्मको तथ्याङकमा आपले सबैभन्दा बढी ५३.५७ प्रतिशत मत प्राप्त गरेको छ भने भाजपाले ३८.५० प्रतिशत मत पाएको छ। कुनै पनि सीट नजितेको कङ्ग्रेसले निकै थोरै ४.२६ प्रतिशत पाएको उल्लेख छ।