ठाकुर ज्ञवाली बने २७औं आइजिपी
मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) मा ठाकुर ज्ञवालीलाई नियुक्त गरेको छ। उनी प्रहरीको २७औं महानिरीक्षक भएका छन्। उनले भोलि (बुधबार) पद्भार ग्रहण गर्नेछन्।
प्रहरी नायब महानिरीक्षक (डिआइजिपी) बाट उनी प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजिपी) नभई सिधै प्रहरी महानिरीक्षक (आइजिपी) भएका हुन्। उनी यसअघि प्रदेश १ को प्रहरी प्रमुख थिए। प्रहरी संगठनमा व्यवसायिक, कुशल, इमानदार र संगठनलाई नेतृत्व गर्नसक्ने प्रहरी अधिकृतको छवि ज्ञवालीमा रहेको छ। उनी सेवा प्रवेशदेखि नै विवादरहित छन्। उनको सेवा प्रवेश २०४७ असार १५ गते भएको हो।
अवकाशप्राप्त प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको वैकल्पिक ब्याजीको रूपमा उनीसँगै आइजिपीको दौडमा रहेका सुदूरपश्चिम प्रदेशका प्रहरी नायब महानिरीक्षक तारिणीप्रसाद लम्साल र सूर्यप्रसाद उपाध्यायले प्रहरी सेवामा प्रवेश गरेका थिए। कूल ६८ हजार ७७६ जना प्रहरीको नेतृत्व गरेर २६ औं प्रहरी महानिरीक्षक खनालले ३० वर्षे सेवा अवधिका कारण सोमबारदेखि अवकाश पाएका छन्। उनीसँगै तीनजना अतिरिक्त प्रहरी महानिरीक्षकहरू पुष्कर कार्की, ठूले राई र धिरू बस्नेतले पनि ३० वर्षे सेवा अवधिका कारण अवकाश पाए।
प्रहरी नायब महानिरीक्षकहरू महेशविक्रम शाह, मनोज न्यौपाने, शेरबहादुर बस्नेत, राजेन्द्रमान श्रेष्ठ, दीपकुमार थापा, पिताम्बर अधिकारी, दिनेश अमात्य, केदार रिजाल, नारायणसिंह खड्का, विनोद शर्मा घिमिरे, पूर्णचन्द्र जोशी, कमलबहादुर जिसी, महेन्द्रकुमार पोख्रेल, सुरज केसी, रामप्रसाद श्रेष्ठ, दानसिंह बोहरा, हरिभक्त प्रजापति र विकास श्रेष्ठले पनि अनिवार्य अवकाश पाएका छन्।
अवकाश पाएका तीन जना एआइजिपी र १८ जना डिआइजिपी खनालकै ब्याजी हुन्। यसरी, एकैसाथ प्रहरी नेतृत्त्वसँगै २२ जना उच्च प्रहरी अधिकृत अवकाशमा गएपछि सरकारले डिआइजिपीबाट प्रहरी नेतृत्व छनोट गर्नु परेको हो।