आगलागीका कारण त्रिभुवन विमानस्थलमा उडान र अवतरण सेवा बन्द

काठमाडाैँ, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगलागी हुँदा उडान अवतरण ठप्प भएको छ। विमानस्थलको डिपार्चरतर्फको भागमा रहेको कफीसपमा आगलागी हुँदा विमानस्थल बन्द भएको टावरले जानकारी दिएको छ।

विमानस्थलको टावरका अनुसार आगलागीका कारण यो  आधा घण्टादेखि उडान र अवतरण बन्द छ। अध्यागमन पास गरेर जहाज चढ्न जानुअघि यात्रु बस्ने कोठासँगै जोडिएको कफीसपमा विद्युत सर्ट हुँदा आगलागी भएको विमानस्थलका एसपी दान बहादुर मल्लले जानकारी दिए ।

विमानस्थल बन्द भएपछि काठमाडौं विमानस्थलमा अवतरणका लागि आएका जहाज आकाशमै होल्डमा परेका छन्। आगलागी नियन्त्रण भएपछि विमानस्थलले सेफ्टी अडिट गरेपछि मात्र विमानस्थल पुन:सञ्चालन हुनेछ।

चारवटा दमकलले आगो निभाएका थिए। आगलागीबाट मानवीय क्षति नभएको केसीले बताए। आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी छ।