बेलायती राजदूत एकाविहानै पुगिन् प्रचण्ड निवास खुमलटार

काठमाडौं, नेपालका लागि संयुक्त अधिराज्य बेलायतकी नवनियुक्त राजदूत निकोला पोलिटले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेटवार्ता गरेकी छन्।

अध्यक्ष निवास खुमलटारमा आज बिहान भएको भेटमा सदियौंदेखिको दुई देशको सम्बन्ध, नेपाली राजनीति, आर्थिक विकास र नेपालको शान्ति प्रक्रियाका बारेमा छलफल भएको थियो। भेटमा अध्यक्ष प्रचण्डले नेपालको विकासमा बेलायत र बेलायती जनताले गर्दै आएको सहयोग र खेलेको भूमिका सह्रानीय भएको बताए।

भेटका अवसरमा अध्यक्षले नेपाल आर्थिक समृद्धिको अभियानमा रहेको बताउदै देशको आर्थिक समृद्धिमा बेलायतको सहयोग अपरिहार्य रहेको बताए।

भेटमा बेलायती राजदूत निकोलाले आफू २० वर्ष पहिले शोधकर्ताका रूपमा नेपाल आएको र अन्नपूर्ण रूटमा ट्रेकिङ गरेको स्मरण गरिन्। उनले नेपालको विकासमा बेलायत सरकारको सहयोग रहने विश्वास दिलाइन्।