सरकारले महिलाहरूको लागि विशेष नीति ल्याउने

काठमाडौं , महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले ‘महिला सम्बन्धी विशेष नीति’ ल्याउने बताएका छन्।

मन्त्री गुरुङले ‘समृद्ध नेपालः सुःखी नेपाली’ को राष्ट्रिय संकल्प पूरा हुनेगरी महिलासम्बन्धी विशेष नीति तथा कार्यक्रम ल्याउन लागिएको बताएका हुन्। ‘नेशनल नेटवर्क फर बेइजिङ रिभ्यू नेपाल’ले बुधबार ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा उनले महिला सशक्तीकरणको माध्यामबाट पनि मुलुकलाई समृद्ध बनाउने अभियानमा महत्वपूर्ण योगदान पुर्‍याउने उद्देश्यका साथ सरकार अघि बढेको उल्लेख गर्दै त्यसका लागि आवश्यक सुझाव दिन सम्वद्ध सबै पक्षलाई आह्वान गरे।

मन्त्री गुरुङले बोक्सी, दाइजो, बाल विवाहलगायतका सामाजिक कूरीतिलाई अन्त्य गर्न सरकार प्रतिवद्ध रहेको पनि बताए। उनले समाज सेवाको क्षेत्रलाई पनि राष्ट्रिय गौरवको आयोजनाको रूपमा सूचिकृत गरी अघि बढने योजना पनि अघि सारे। ‘मुलुकको समृद्धिमा टेवा दिने गरी समाज सेवाको क्षेत्रलाई पनि राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाइनेछ,’ मन्त्री गुरुङले भने, ‘त्यसका लागि आवश्यक सुझाव दिन सम्वद्ध सबै पक्षलाई आग्रह गर्दछु।’ उनले सरकारले नागरिक समाजसँगै सहकार्य गरेर मुलुकलाई अघि बढाउन चाहेको पनि बताए।