सीजी टेलिकमको लाइसेन्स खारेज

काठमाडौं,सरकारले चौधरी ग्रुपको सीजी कम्युनिकेशन (टेलिकम) प्रालिलाई प्रदान गरिएको दूरसञ्चार अनुमति पत्र खारेज गरिदिएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले मंगलबार एक सूचना जारी गर्दै आइतबारदेखि लागू हुने गरी सीजी कम्युनिकेशनलाई प्रदान गरिएको लाइसेन्स खारेज गरिएको जनाएको छ । सीजी कम्युनिकेशन (तत्कालीन एसटीएम टेलिकम)ले ७ वटा जिल्लामा (सीमित गतिशीलतामा आधारित वायरलेस दूरसञ्चार सेवा) प्रवाहका लागि भन्दै १९ माघ २०६६ मा अनुमतिपत्र पाएको थियो ।

तर, सीजीले उक्त सेवाको लागि आवश्यक पर्ने नवीकरण दस्तुर नतिरेको भन्दै प्राधिकरणले केही समय अगाडि लाइसेन्स निलम्बन गरेको थियो । लाइसेन्स निलम्बन गरेर राजश्व दाखिला गर्नका लागि ताकेता गर्दा पनि राजश्व रकम दाखिला नगरेको भन्दै प्राधिकरणले अन्ततः लाइसेन्स नै खारेज गरिदिएको हो ।