उडिरहेको विमानमा बच्चा जन्मिएपछि…

भारत,मंगलबार दोहाबाट बैंककका लागि उडिरहेको विमानमा एक थाई महिलाले बच्चा जन्माएकी छिन् ।

विमान उडिरहेकै समयमा ती महिलालाई सुत्केरी व्यथा लागेपछि विमानका कर्मचारीको सहयोगमा प्रसूती गराइएको जनाइएको छ । विमान कम्पनीले महिलाको नाम सार्वजनिक गरेको भने छैन । विमानमा नै बच्चा जन्मिएपछि चालकले विमानलाई कलकत्तामा नै आकस्मिक अवतरण गराएका थिए ।

विमान अवतरणपछि महिला र बच्चा दुबैलाई कलकत्तास्थित एक निजी अस्पतालमा भर्ना गरिएको छ । आमा र बच्चा दुबैको स्वास्थ्य सामान्य रहेको अस्पताल स्रोतले जानकारी दिएको छ ।

कलकत्ता विमानस्थलका अधिकारीका अनुसार दोहाबाट बैंककका लागि उडेको कतार एअरवेज, क्यूआर–८३०, को विमानले जीवन रक्षाका लागि हवाई ट्राफिक नियन्त्रकसँग अनुरोधपछि मङ्गलबार बिहान ३ः०९ बजे भारतको कलकत्ता विमानस्थलमा चिकित्सा प्राथमिकता आवश्यकताका कारण आकस्मिक अवतरण गराइएको थियो ।