भक्तपुरमा बालिका अपहरण गरी फिरौती माग्ने युवक मामाका छोरा

काठमाडौं, पछिल्लो समय आपराधिक घटनाहरुमा घरकै व्यक्ति, आफन्त, छिमेकी र चिनजानका मानिसको संलग्नता बढ्दो छ । जसका कारण नेपाली समाजमा पछिल्लो समय आफन्तैमाथि ‘अविश्वास’ को अवस्था सिर्जना हुँदै गएको छ । यसले नेपाली समाजलाई विकृत बनाउँदै लगिरहेको छ । हिजो (आइतबार) भक्तपुरमा स्कुलबाट ६ वर्षीया बालिका अपहरण गरी १६ लाख रुपैंयाँ फिरौती माग्ने युवा आफ्नै मामाको छोरा भएको खुलेको छ । आफ्नै फुपूकी छोरी अपहरण गरी १६ लाख फिरौती माग्ने नासा कलेज तिनकुनेमा स्नातक तहमा अध्ययनरत अपहरणकारी युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका युवक स्नातक अध्ययन् गर्दै गरेका छन् । स्नातक अध्ययन गर्दै गरेका युवाको ज्ञान अपराध कर्ममा प्रयोग हुनु दुःखद भएको जानकार बताउँछन् । देश निर्माणको आधार मानिएका शिक्षित युवा नै अपराध कर्ममा लाग्नु समाजका लागि शुभ संकेत मान्न नसकिने घटना अनुसन्धानमा सक्रिय प्रहरी अधिकारीहरु बताउँछन् । पक्राउ पर्नेमा सर्लाही लालबन्दी नगरपालिका–५ स्थायी घर भई हाल मध्यपुरथिमि नगरपालिका–६ बस्ने २० वर्षीय आशिष थापा रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता दीपक गिरीले जानकारी दिएका छन् ।

आइतबार दिउँसो सवा १२ बजे मध्यपुरथिमिको ग्लोरी इङ्लिस स्कुल पुगेर युकेजीमा पढ्ने ६ वर्षीया बालिका गृष्मा राउत (नाम परिवर्तन) लाई अभिभावक हुँ भन्दै आशिषले मोटरसाइकलमा हालेर लगेको ४ घण्टापछि बालिकाको सकुशल उद्धार गरिएको छ भने अपहरणकारी पक्राउ परेको उनले जानकारी दिए । आफूले चिनेकै मान्छे स्कुलमा लिन आएपछि बालिका पनि सहजै गएको र अपहरणकारीले मोटरसाइकलमा बालिकालाई लगेर सूर्यविनायक नगरपालिका–७ घ्याम्पेडाँडा पु¥याइ करिब ३ बजे बालिकाको बाबुलाई फोन गरी छोरी आफ्नो कब्जामा रहेको १६ लाख नदिए जे पनि हुनसक्छ भनेर धम्की दिएपछि बालिका अपहरणमा परेको खुलासा भएको थियो ।

बालिकाको बाबुले प्रहरी वृत्त थिमिमा छोरी अपहरणमा परेको खबर गरेपछि प्रहरी वृत्त थिमि, प्रहरी परिसर भक्तपुर र महानगरीय अपराध अनुसन्धान महाशाखा काठमाडौंको टोलीले बालिकाको खोजी तीव्र पारेको थियो । अपहरणकारीको मोबाइल लोकेशनको आधारमा प्रहरीले सूर्यविनायक जङ्गल केन्द्रित भएर खोजी गर्ने क्रममा अपहरणकारी थापाले फिरौती वापतको रकम थिमिमा रहेको भाटभटेनीमा ल्याएर दिन भनेपछि बालिकाको परिवार भाटभटेनी सुपरमार्केट पुगेको महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरी जानकारी दिएको छ । रकम लिन भनेर आएका थापालाई प्रहरीले सोही स्थानबाट पक्राउ गरेको र मोटरसाइकलमा सवार भई अपहरणमा सघाउने अर्का एकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।