दैलेख नौमुले गाउँपालिकाका अध्यक्षलाई पक्राउ गर्न पुर्जी
दैलेख, जिल्ला प्रशासन कार्यालय दैलेखले नौमुले गाउँपालिका अध्यक्ष भदे बुढा मगरसहित चार जनालाई पक्राउ गर्न पक्राउ पुर्जी जारी गरेको छ । उनीहरुलाई अभद्र व्यवरहारसम्बन्धी मुद्दामा पक्राउ गर्न पूर्जी जारी गरिएको हो । शुक्रबार पक्राउ पूर्जी जारी गरिए पनि अहिलेसम्म कोही पनि पक्राउ भने परेका छैनन् । माघ १३ गते जनजाति महासंघको बैठक सकेर घर फर्कने क्रममा वडा नं. ५ निवासी कृष्ण सलामीमाथि अभद्र व्यवहार गरेको उजुरी परेको थियो ।
प्रहरीले सोही उजुरीको आधारमा पक्राउ गर्न जिल्ला प्रशासन कार्यालयसँग अनुमति मागेको थियो । जिल्ला प्रहरी प्रमुख डीएसपी हरिबहादुर वलीले अध्यक्षसहित चार जनालाई पक्राउ गरी घटनाको अनुसन्धान गर्ने बताएका छन् । गाउँपालिका अध्यक्ष निकट वडा नं. ३ का अध्यक्ष गगन रोका मगरले भने अध्यक्षको बदनाम गराउन बदनियतले नाम राखेर जाहेरी दिएको आरोप लगाए । जाहेरवाला सलामीको गाउँपालिका अध्यक्षका सवारी चालक कुलबीर खत्रीसँग झगडा भएको र उल्टै चालकलाई मरणासन्न हुने गरी पिटेको उनको भनाइ छ ।
‘कुलबीर अहिले पनि अस्पतालमा छन्, उनका बुबाले दिएको जाहेरी दर्ता समेत भएको छैन,’ रोकामगरले भने, ‘तर घटनासँग सम्बन्ध नभएका गाउँपालिका अध्यक्षलाई जोडेर दिएको गलत जाहेरीमाथि प्रशासनले पक्राउ पुर्जी काटेको छ ।’ गाउँपालिका अध्यक्ष बुढा ७ नम्बर वडाध्यक्ष मोतिलाल बस्नेतलाई कार्यबाहक दिएर श्रीमतीको उपचार गर्न जिल्लाबाहिर गएका छन् । प्रशासनले अध्यक्षसहित गणेश थापा मगर, कपिल सिंह र छविलाल राम्जालीलाई प्रकाउ गर्न पुर्जी काटेको छ ।