विप्लव नेकपाका केन्द्रीय सदस्य लामा सहित ४ जनालाई रिहा गर्न अदालतको आदेश
काठमाडौ, नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा तत्कालीन उपत्यका बिशेष ब्युरोका इन्चार्ज माइला लामा सहित चार जनालाई रिहा गर्न अदालतले आदेश गरेको छ ।उच्च अदालत पाटलले लामासँगै नेकपा अर्का केन्द्रीय सदस्य नविन विश्वकर्मा, अनेमसंघ (क्रान्तिकारी)की केन्द्रीय महासचिव तथा पुर्व सभासद धिरिन्द्रा उपाध्याय र नेता इश्वर परियारलाई रिहा गर्न आदेश गरेको हो ।
नक्खु स्थित एनसेलको केन्द्रीय कार्यालयमा बम विस्फोट गराएको घटनामा र राज्य विरुद्धको अपराधमा दोषी ठहर गर्दै पुर्पक्षमा पठाउने ललितपुर जिल्ला अदालतको फैसलालाई उच्च अदालतले बदर गर्दै नेताहरुलाई रिहा गर्न आदेश दिएको छ ।
जिल्ला अदालत ललितपुरको आदेश विरुद्धको रिट निवेदन उच्च अदालतमा परेको थियो ।
उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश श्रीकान्त पौडेलको इजलासले बिहीबार चार जनालाई निर्दोष ठहर गर्दै रिहाईको आदेश दिएको छ ।
उनीहरु सबैलाई ललितपुर जिल्ला अदालतले पुर्पक्षको लागि भन्दै नख्खु कारागार चलान गरेको थियो ।
बन्दीहरुको तर्फबाट वरिष्ठ अधिवक्ता एकराज भण्डारी, अधिबक्ताहरु कपिलचन्द्र पोखरेल, कान्तिराम ढुंंगाना, खिमानन्द अधिकारी, रामकृष्ण भण्डारी, सन्तोष कोइराला, बासुदेव तिवारी, चुडा बहादुर निरौला र राजु अधिकारीले बहस गरेका थिए ।