सभामुख सापकोटाद्वारा चार विधेयक प्रमाणित
काठमाडौँ, सभामुख अग्निप्रसाद सापकोटाले चार विधेयक प्रमाणित गरेर प्रमाणीकरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पठाएका छन् । दुवै सदनबाट पारित भएर लामो समयदेखि प्रमाणित हुन बाँकी थिए ।संसदको चौथो अधिवेशनले पारित गरेका प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको सञ्चालन, सुपरीवेक्षण र समन्वय सम्बन्धका व्यवस्था गर्न बनेको विधेयक, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र भूमि सम्बन्धी आठौँ संशोधन विधेयकमा सापकोटाले प्रमाणित गरेर प्रमाणीकरणका निम्ती पठाइएको प्रतिनिधिसभा सचिव गोपालनाथ योगीले जानकारी दिए ।
यी विधेयकलाई राष्ट्रपतिले प्रमाणीकरण गरेपछि तोकिएको समयमा लागु हुनेछन् ।
औद्योगिक व्यवसाय सम्बन्धी प्रचलित कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि भने थप छलफल गर्नुपर्ने भएकाले प्रमाणीत नगरिएको योगीले बताए । उक्त विधेयक दुवै सदनबाट पारित भएर आउँदा पनि दफाक्रम नमिलेकाले कसरी प्रमाणित गर्ने भन्नेबारे छलफल पछि मात्रै प्रमाणित गर्ने तयारी भएको छ ।
‘प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ र ‘नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको सञ्चालन, सुपरीवेक्षण र समन्वय सम्बन्धमका व्यवस्था गर्न बनेको विधेयक’ राष्ट्रपतिबाट स्वीकृत भएपछि प्रदेश प्रहरी गठनको काम सुरु हुनेछ ।
यी दुई विधेयक प्रमाणीकरण नहुँदा प्रहरी संगठनमा संघीयता कार्यान्वयन हुन सकेको थिएन । अब प्रदेश प्रहरी गठन र नेपाल प्रहरीका कर्मचारीको प्रदेश प्रहरीमा समायोजनको बाटो खुला हुनेछ ।
दुवै सदनबाट पारित भएका विधेयक प्रमाणीकरण नहुँदै तत्कालीन सभामुख कृष्णबहादुर महरालाई बलात्कार प्रयासको आरोप लागेपछि राजीनामा दिएका थिए । सभामुखमा आइतबार सापकोटा नियुक्त भएपछि यी विधेयक अगाडि बढेका हुन् ।