कोरोना संक्रमणको डरले रसुवागढी नाका बन्द

रसुवा,रसुवागढी पुलदेखि जिलोङ काउन्टीसम्म पर्ने सडकको मर्मत बुधबारदेखि सुरु गरिने भएकाले नाका बन्द गरिएको हो । चीनको जिलोङ काउन्टीले मङ्गलबार एक विज्ञप्ति निकालेर बुधबारदेखि राष्ट्रिय राजमार्ग बन्द गर्ने जनाएको छ ।

नाका बन्द गर्नुअघि नेपाली तथा चिनियाँ अधिकारीहरूबीच मङ्गलबार बिहान रसुवागढीमा बैठक बसेको थियो । बैठकले कोरोना भाइरसको सङ्क्रमण रोक्न, केरुङतर्फ जाने सडकमा हिउँ परेको तथा ढुङ्गाहरू खस्ने भएकाले दुर्घटना हुन सक्ने र ल्होसार पर्वको कारण नाका बन्द गर्न लागेको जानकारी दिएको छ ।रसुवागढीमा मङ्गलबार बिहान बसेको बैठकमा नेपाल प्रहरी, चिनियाँ प्रहरी र अध्यागमन कार्यलयका अधिकारी उपस्थित थिए । बुधबारदेखि नेपाल चीन आगमन प्रस्थान अनुमति पत्र चाइना पास लिएका रसुवाका नागरिक पनि केरुङ जान पाउने छैनन् ।

चाइना पास भएका व्यक्ति नाका पारीसम्म मात्र जान पाउँछन् । त्यसैगरी जिल्ला प्रशासन कार्यालयले मङ्गलबार साँझ एक विज्ञप्ति निकाल्दै नाका पूर्णरुपमा बन्द भन्ने हल्ला निराधार भएको बताएको छ । नाकाबाट सवारी साधन तथा मानिसले आवतजावत गर्न नमिल्ने तर रसुवा तथा केरुङका भन्सार अध्यागमन खुल्ने जानकारी दिएको हो ।सीमा बैठकमा दुई देशका सुरक्षा अधिकारी बीच छलफल हुनुपर्नेमा सीमाका सुरक्षाकर्मीले मात्र छलफल गरेर निर्णय गरेको प्रति कार्यालयले असन्तुष्टि जनाएको छ ।