कारको टायरमा गोली हानी गाँजा तस्कर पक्राउ
काठमाडौँ, गाँजा तस्करीमा संलग्न भएको आरोपमा तीन जना पक्राउ परेको छ। मकवानपुर प्रहरीले कारको टायरमा गोली प्रहार गरी तीनजना गाँजा तस्करलाई पक्राउ गरेको हो ।
बुधबार बिहान १ बजे हेटौंडा–११, थानाभर्याङमा प्रहरीले गाँजा तस्करी गरिरहेको भारतीय नम्बर प्लेटको बीआर ०६ जी ४४५७ नम्बरको कारको टायरमा गोली प्रहार गरेर तीनजनालाई नियन्त्रणमा लिएको हो ।प्रहरी देखेपछि भाग्दै गरेका उनीहरु सवार कारको टायरमा गोली प्रहार गर्नुपरेको मकवानपुरका एसपी सुशील सिंह राठौरले जानकारी दिए । सुरुमा प्रहरीले उनीहरुमाथि प्रहरीले हवाई फायर गरेको थियो ।
पक्राउ परेकाहरुमा एक महिला र दुई पुरुष रहेका छन् । एसपी राठौरका अनुसार भारत मुजफ्फरपुरका अजयमल सवारी चालक, सञ्जीव पासवान र जाहेरा खातुन पक्राउ परेका हुन् । गाडीमा महिलालाई बिरामी बनाएर र एकजना बिरामी कुरुवा बनेर उनीहरुले गाँजाको तस्कर गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुल्न आएको एसपी राठौरले बताए ।
उक्त कारमाथि शङ्का लागेपछि प्रहरीले सुरुमा मकवानपुरको मनहरीमा नियन्त्रणमा लिन खोजेको थियो । तिव्र गतिमा रहेको कारण प्रहरीले नियन्त्रणमा लिन सकेन ।यस्तै लेवटमा पनि प्रहरीले उक्त कारलाई नियन्त्रणमा लिन खोज्यो, तर सकेन् । त्यहाँबाट जिल्ला ट्राफिक प्रहरी कार्यालय, मकवानपुर अगाडि पुगेको सो कारलाई चेकजाँच गर्न खोज्दा पनि रोकेन् ।
लागूऔषध लिएर आइरहेको तीन ठाउँमा प्रहरीले नियन्त्रणमा लिन नसकेपछि वडा प्रहरी कार्यालय हेटौंडाको टोलीले थानाभर्याङमा नियन्त्रणमा लिन खोज्दा भागेको थियो ।प्रहरीलाई देखेपछि भाग्न खोजेपछि गोली चलाएर नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएका उनीहरुको साथबाट ३२ किलो गाँजा बरामद भएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरी भ्यानलाई ठक्कर
थानाभर्याङबाट गाँजा तस्कर पक्राउ गरेर फर्कने क्रममा प्रहरीको भ्यानलाई बसले ठक्कर दिएको छ । बसको ठक्करबाट इन्सपेक्टर ईश्वरीप्रसाद भण्डारीसहित पाँचजना घाइते भएका छन् । हेटौंडा–११, थानाभर्याङबाट हेटौंडातर्फ आउँदै गरेको वडा प्रहरी कार्यालय हेटौंडाको प्रहरी भ्यानलाई बसले ठक्कर दिएको एसपी राठौरले पुष्टि गरे । प्रहरी भ्यानलाई काकडभिट्टाबाट धनगढीतर्फ जाँदै गरेको ना.५ ख ५५८२ नम्बरको बसले ठक्कर दिएको हो ।
]यसअघि पनि मकवानपुर प्रहरीले पुस १९ गते तीनजना गाँजा तस्करलाई गोली प्रहार गरी पक्राउ गरेको थियो । डिएल ३ सिएक्यू ४१७२ नम्वरको भारतीय कारमा सवार उनीहरु प्रहरी देखेपछि भाग्ने क्रममा प्रहरीले गोली चलाएको हो । प्रहरीले कार चालक भारत मोतिहारीका ३७ बर्षीय दिलिपकुमार सिंह, उज्वलकुमार ठाकुर र रौतहट यमुनामाई गाँउपालिका–४ का २४ बर्षीय विकास सिंहलाई पक्राउ गरेको थियो । उनीहरुको साथबाट पनि ३२ किलो गाँजा बरामद भएको थियो ।