काठमाडौंका अस्पतालमा ‘कोरोना भाइरस’को परीक्षण सुरु

काठमाडौं, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘कोरोना भाइरस’ संक्रमण भए/नभएकाे बारे जानकारीका लागि काठमाडौं उपत्यकाका पाँच वटा अस्पतालबाट परीक्षण शुरु गरिएको जनाएको छ ।

बुधबार मन्त्रालयले पत्रकार सम्मेलन गरी अस्पतालहरुको निगरानीका लागि डा. गुणराज लोहनीको नेतृत्वमा अनुगमन टोली गठन गर्न लागेको समेत जानकारी दिएको हो । मन्त्रालयका प्रवक्ता डा. महेन्द्र श्रेष्ठले शुक्रराज ट्रपिकल तथा सरुवा रोग, त्रिवि शिक्षण अस्पताल, पाटन, वीर, भक्तपुर र सैनिक अस्पताललाई कोरोनाभाइरसको उपचार गराउने ‘हब’ अस्पतालको रुपमा छुट्याइएको जानकारी दिए ।

उनले काठमाडौंका अरु १३ वटा अस्पताललाईसमेत कोरोना भाइरस संक्रमणको परीक्षण तथा उपचारका लागि छुट्याइएको जानकारी दिए । सामान्य रुघाखोकी लाग्दैमा डराउनु नपर्ने भन्दै प्रवक्ता श्रेष्ठले कोरोनाभाइरस परीक्षणका लागि बुधबार एक जना बिरामी पनि अस्पताल भर्ना नभएको जानकारी दिए । कोरोना भाइरसको लक्षण दुईदेखि १० दिनभित्र देखिसक्ने भन्दै मन्त्रालयले चीनबाट फर्किएका मानिसहरुलाई बढी निगरानीमा राखिने जनाएको छ ।