आतंक मच्चाउने भारतीय युवक गोली हानी पक्राउ

गौर, मधेसी नेशनल पार्टीको नाउमा पूर्वी तराईंमा आतंक मच्चाउने एक भारतीय युवकलाई प्रहरीले गोली हानी पक्राउ गरेको छ ।भारतीय राज्य बिहारको मोतिहारी जिल्ला घर भएका चाँद अलीलाई प्रहरीले गोली हानी पक्राउ गरेको हो ।

सीमावर्ती भारतीय नाकाबाट नेपाल प्रवेश गर्दै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको टोलीले अलीलाई पक्राउ गरेको हो ।सीमा क्षेत्रबाट नेपाल गर्न मोटरसाइकलमा आएका ३ जना बकैया नदीको बाँधमा पुग्दा प्रहरी टोलीमाथि फायरिङ गरेर भारततर्फ भागेका थिए । मोटरसाइकलमा आएका युवकले गोली चलाएपछि प्रहरीले पनि जवाफी फायरिङ गरेको थियो ।

गोली लागेर मोटरसाइकलबाट लडेपछि प्रहरीले अलीलाई पक्राउ गरेको हो । दायाँ खुट्टामा गोली लागेका अलीको अहिले गौर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ ।