विप्लवका कार्यकर्तालाई पक्राउ गर्दा प्रहरीलाई गोली लाग्यो, एक जना घाइते

गुलरिया, बर्दियामा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका दुई कार्यकर्तालाई नियन्त्रणमा लिने क्रममा गोली लागेर एकजना प्रहरी जवान घाइते भएका छन्।जिल्लाको मधुवन–४ मौवास्थित नहर छेउबाट विप्लका दुई कार्यकर्तालाई नियन्त्रणमा लिने क्रममा आफैँले बोकेको हतियार पड्किएर एकजना प्रहरी जवान घाइते भएका हुन्।

जिल्ला प्रहरी कार्यालय बर्दियाका डिएसपी योगेन्द्र खड्का अनुसार कुममा गोली लागेर घाइते भएका ती प्रहरी जवानलाई जिल्ला अस्पतालमा उपचारपछि अन्यत्र पठाइएको छ।

त्यसक्रममा प्रहरीले विप्लव समूहका रोहित सुनार र जयबहादुर ठाडा मगरलाई नियन्त्रणमा लिएको छ।

पक्राउ परेका विप्लवका कार्यकर्ताको साथबाट प्रहरीले दुईवटा मोटरसाइकल, एउटा कटुवा पेस्तोल, तीन राउन्ड गोली, चन्दा ठेली र लेटर प्याड बरामद गरेको छ ।