गायिका आस्था राउत ४ हजार धरौटीमा रिहा
काठमाडौं,अभद्र व्यवहारको कसुर गरेको अभियोमा प्रहरी नियन्त्रणमा रहेकी गायिका आस्था राउत ४ हजार रुपैयाँ धरौटीमा रिहा भएकी छन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल नेतृत्वको इजलाशको आदेशानुसार राउत ४ हजार धरौटीमा रिहा भएकी हुन् ।
सोमबार आफैं प्रहरीमा उपस्थित भएपछि प्रशासनमा उपस्थित गराइएकी राउतविरुद्ध अनुसन्धान गर्न भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले ४ दिन म्याद थप गरेको थियो ।प्रशासनले ४ दिन थुनामा राख्ने अनुमति दिए पनि प्रहरीले भने मंगलबार नै राउतविरुद्धको अनुसन्धान टुंग्याएर जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंलाई रायसहितको प्रतिवेदन बुझाएको थियो ।
प्रहरीको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले मंगलबारै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा राउतविरुद्ध अभियो पत्र (मुद्धा) दायर गरेको थियो ।जिल्ला प्रशासन कार्यालयले मंगलबार नै राउतको बयान लिएर थुनछेक आदेश जारी गर्दै ४ हजार रुपैयाँ धरौटी लिएर रिहा गर्न भनेको हो ।