‘हेड सर’ देखि अफ्ठ्यारो राजनीतिक यात्रा पारगर्दै संसदको सर्वोच्च पदसम्म – सापकोटा

काठमाडौं, लामो समयको वहस, छलफल र विरोधका वावजुद प्रतिनिधिसभाको सभामुखमा अग्नीप्रसाद सापकोटा आज (आइतबार) निर्विरोध निर्वाचित भएका छन् । आज बसेको प्रतिनिधि सभाको बैठकले सापकोटालाई सभामुखमा निर्विरोध निर्वाचित गरेको हो ।

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य महन्थ ठाकुरले सापकोटा सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् । नेकपाका संसदीय दलका उपनेता सुवास नेम्वाङले सापकोटालाई सभामुख बनाउन संसदमा प्रस्ताव प्रस्तुत गरेका थिए । त्यसैगरी पूर्व सभामुख ओनसरी घर्ती, नेकपा संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङ र राष्ट्रिय जनता पार्टी (राजपा) सांसद् लक्ष्मणलाल कर्णले गरेका थिए । नेपाल कम्युनिस्ट पार्टी नेकपाले सापकोटालाई उम्मेद्वा बनाउने निर्णय गरेको थियो ।

को हुन् अग्नीप्रसाद सापकोटा ?

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-४ कुबिण्डे गाउँको सामान्य परिवारमा जन्मिएका थिए अग्निप्रसाद सापकोटा। २०१४ फागुन २४ गते आमाको तिलमाया र बाबु धनपति सापकोटाबाट जन्मिएका नेकपा स्थायी कमिटी सदस्य सापकोटा प्रतिनिधिसभाको सभामुख पदमा निर्वाचित भएका छन्। अन्य कुनै दलले सभामुखमा उम्मेदवारी नदिएपछि सापकोटा निर्विरोध भएका हुन्।  धेरैले ‘अग्नि सर’ का रुपमा चिन्ने र जान्ने अग्निप्रसाद सापकोटालाई सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सभामुखको उम्मेद्वार बनाउने निर्णय गर्‍यो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले लामो प्रयासपछि सापकोटालाई सभामुखको उम्मेद्वार बनाउने निर्णय भएको थियो । तत्कालीन सभामुख कृष्णबहादुर महरालाई यौन दुर्व्यवहारकाे आरोप लागेपछि विगत चार महिनादेखि रिक्त रहँदै आएको सभामुखमा लामो बहस र छलफलपछि नेकपाले उम्मेद्वार टुङ्गो लगाएको थियो ।

माओवादीले सञ्चालन गरेको जनयुद्धमा होस् वा राजकीय जिम्मेवारीमा रहँदा नै किन नहोस् प्राप्त भएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने सभामुखमा प्रस्तावित सापकोटा नेकपाभित्र सादगी र इमान्दार नेताका रुपमा परिचित छन् । माओवादीले शुरु गरेको जनयुद्धमा सहभागी हुँदा होस् वा शान्ति प्रक्रियामा नै रहँदा नै किन नहोस् सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोकलगायतका जिल्लावासीले उनलाई ‘अग्नि सर’ का रुपमा चिन्छन् । विसं २०१४ फागुन २४, सिन्धुपाल्चोक, कुविण्डेमा तिलमाया सापकोटा र धनपति सापकोटाको सुपुत्रका रुपमा जन्मिएका सापकोटाले त्रिभुवन विश्वविद्यालयबाट स्नातकसम्मको अध्ययन गरेका छन् । लामो समय शिक्षकका रुपमा सेवा गरेका कारण पनि उनलाई धेरैले अग्नि सरकारको नाम दिएका हुन् ।

नेता सापकोटा २०३५ सालमा नेकपा (चौथो महाधिवेशन) बाट पार्टी राजनीतिमा लागेका हुन् । हाल नेकपा स्थायी कमिटी सदस्य रहेका सापकोटा २०६४ चैत २८ गते सम्पन्न पहिलो संविधानसभाको निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नं २ बाट निर्वाचित भएका थिए । विसं २०६८ मा सूचना तथा सञ्चारमन्त्री भएका सापकोटा २०७० को दोस्रो संविधानसभाको निर्वाचनमा पनि सिन्धुपाल्चोक–२ बाट दोस्रो पटक संविधानसभा सदस्यमा निर्वाचित भएका थिए ।
तत्कालीन नेकपा (माओवादी) ले विजयी हासिल गरेकामध्ये वाग्मती अञ्चलबाट निर्वाचित हुने एक मात्रै नेता हुन् उनी । सापकोटाले २०७३ मा नेपाल सरकारको वन तथा भू–संरक्षण मन्त्रीको समेत जिम्मेवारी सम्हालेका थिए ।

विसं २०७४ मा भएको प्रतिनिधिसभाको निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नं १ बाट निर्वाचित सापकोटा २०४८ सालदेखि सक्रियरुपमा राजनीतिमा क्रियाशील छन् । विसं २०५१ मा तत्कालीन नेकपा (एकता केन्द्र) को केन्द्रीय सदस्य हुँदै २०५१ असोजमा नेकपा (माओवादी) केन्द्रीय सदस्य भएका उनले २०५२ माघदेखि भूमिगत राजनीति समेत गरेका थिए । विसं २०५८ मा तत्कालीन नेकपा (मोआवादी) का तर्फबाट गठन गरिएको तीन सदस्यीय वार्ता टोलीमा रही शान्ति प्रक्रियालाई अगाडि बढाउन महत्वपूर्ण योगदान गरेका थिए । तत्कालीन एकीकृत नेकपा (माओवादी) को हेटौंडा महाधिवेशनबाट पोलिटब्युरो सदस्य बनेका उनी २०६९ साउनदेखि एकीकृत नेकपा (माओवादी) को स्थायी समिति सदस्य तथा पार्टीको केन्द्रीय प्रवक्ताको भूमिका निर्वाह गरे ।

सानैदेखि विद्रोही स्वभावका सापकोटा कुविण्डेका सापकोटा परिवारकै पहिलो प्रधानाध्याक हुने पहिलो व्यक्तिका रुपमा समेत परिचित छन् । धेरैले अग्नि सर भनेर नाम दिएका सापकोटालाई नेकपाले लामो बहस र छलफलपछि सभामुखको उम्मेद्वार बनाउने निर्णय भएको थियो । स्पष्ट वक्ता र राजनीतिमा कहिल्यै विचलित नहुने स्वभावका छन् सापकोटा । जनयुद्धकाल होस् वा शान्ति प्रक्रियामा समेत पार्टी, देश र जनताप्रति इमान्दार भएर लागेका सापकोटाकै पहलमा लामो समयदेखि बन्द भएको तातोपानी नाका समेत खुलिसकेको छ । राजधानीमा भन्दा जनताको घर आँगनमा नै रमाउन चाहने सापकोटा पार्टीभित्र स्पष्ट विचार राख्ने नेतामध्ये एक हुन् । पार्टी राजनीतिमा अधिकांश समय अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई साथ सहयोग दिँदै आएका सापकोटाले यसअघि तत्कालीन एकीकृत नेकपा (माओवादी) को पार्टी प्रवक्ताको भूमिका समेत कुशलतापूर्वक निर्वाह गरेका थिए ।

नेकपाको बहुमत रहेको प्रतिनिधिसभालाई जनताप्रति उत्तरदायी बनाउने र नीति निर्माणमा विगतमा जस्तै कुशलतापूर्वक जिम्मेवारी बहन गर्ने दायित्व समयक्रमले सापकोटाको काँधमा ल्याई दिएको छ । यो जिम्मेवारीलाई उनले कुशलतापूर्वक सम्हालेर सङ्घीय संसद्लाई थप जनमुखी बनाउने विश्वास उनलाई अग्नि सरको उपमा दिने धेरैले लिएका छन् ।