‘लाइट स्टोन’ किन्न गएका पूर्व सेनाका सुवेदारको लुटियो ५० लाख

काठमाडौं,‘लाइट स्टोन’ बल्ने ढुंगाको कारोकारमा रहेका एक पूर्व सैनिकको ठूलो रकम लुटिएको छ । अवकासपछि जग्गा कारोबारमा रहेका एक पूर्व सैनिक तथा आफ्नै सहकर्मीबाट उनि लुटिएका हुन् । काभ्रेस्थलीको जङ्गलमा पैसा बोकेर गएका पूर्व सुबेदार बच्चुराम गुरूङलाई उनकै जग्गा व्यवसायी सहकर्मीले बिहीबार लुटेका हुन् । ‘बल्ने ढुङ्गा’ भेटिएको भन्दै केही व्यक्तिले गुरूङलाई जङ्गलमा पैसा लिएर बोलाएका थिए ।

५० लाख रुपैयाँ पैसा लिएर गएका गुरूङलाई छ जनाले लुटेको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ । लुटिएपछि गुरूङले प्रहरीमा खबर गरेका थिए । घटना अनुसन्धानमा परिचालन भएको अपराध महाशाखाको टोलीले सो घटनामा संलग्न ६ जनालाई शनिबार पक्राउ गरेको छ ।

उनीहरूलाई राजधानीका विभिन्न स्थानबाट पक्राउ गरिएको महाशाखा स्रोतले जानकारी दिएको छ । उनीहरूको साथबाट चार वटा पल्सर मोटरसाइकल, १९ लाख रूपैयाँ नगद बरामद भएको महाशाखाका एक अधिकृतले बताएका छन् । अनुसन्धान अनुसार दग्गा व्यवसायका अतिरिक्त उनीहरू जनावरका अखटोपहार, हाड हड्डी बिक्री वितरणमा संलग्न छन् ।

‘कहिले स्यालको सिङको कारोबार गर्ने कहिले वनमान्छेको हाडहड्डीको कारोबार गर्ने गरेको पत्ता लागेको छ,’ स्रोतले भन्यो, ‘त्यही सिलसिलामा बल्ने ढुङ्गा छ भनेर लुटेको थाहा भएको छ ।’ गुरूङले आफूबाट ५० लाख रुपैयाँ लुटेको प्रहरीलाई बताएका छन् । त्यसमध्ये १९ लाख रुपैयाँ लुटपाटमा संलग्नबाट बरामद गरिएको हो । प्रहरीले अनुसन्धानकै क्रममा रहेकाले पक्राउ परेकाको विवरण उल्लेख गरेको छैन ।