जब बिरामी बोक्ने एम्बुलेन्समा साढे ३० किलो गाँजा भेटियो…

हेटौंडा,बिरामी बोक्नु पर्ने एम्बुलेन्सबाट प्रहरीले साढे ३० किलो गाँजा बरामद गरेको छ । प्रहरीले हेटौंडा उपमहानगरपालिकाबाट प्रहरीले ३० किलो ६०० ग्राम गाँजासहित एम्बुलेन्सलाई नियन्त्रणमा लिएको हो । शनिबार साँझ करीब ७ बजेतिर प्रहरीले वडा नम्बर १९ बाट बा २ झ १७४९ नम्बरको एम्बुलेन्सबाट उक्त परिमाणमा गाँजा बरामद गरेको हो । इलाका प्रहरी कार्यालय मकवानपुरले नेवारपानीबाट खटिएको टोलीले एम्बुलेन्सबाट गाँजा बरामद गरेको हो । उक्त सरकारी एम्बुलेन्स रौतहटको डुमरिया स्वास्थ्य चौकीको रहेको खुलेको मकवानपुर प्रहरी प्रवक्ता ललनकुमार कुर्मीले जानकारी दिएका छन् ।

पक्राउ पर्नेमा चालक डुमरिया नगरपालिका–९ का मोहम्मद खलिद, डुमरिया–४ का अशोक कुमार र भारत बिहार मोतिहारीका विनोद सहनी छन् । उनीहरूले मकवानपुरकै कुनै ठाउँबाट एम्बुलेन्समा गाँजा ओसार्ने गरेको पत्ता लागेको छ । एम्बुलेन्स रोकेर हेर्दा तीन वटा झोलाभित्र ६ पोकामा राखेको गाँजा फेला परेको थियो । एम्बुलेन्सबाट ९१ हजार रूपैयाँ पनि बरामद भएको छ ।

एम्बुलेन्ससहित नियन्त्रणमा लिइएकाहरूमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम दुईदेखि १० वर्षसम्म कैद र १५ हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना तथा सवारी साधन समेत जफत हुने व्यवस्था छ । सोही ऐनअनुसार उनीहरूमाथि कारबाही हुने प्रहरीले जनायो ।