नेपालमा देखिएको ‘कोरोना भाइरस’ खतरनाक नभएको ; चिकित्सकले बताएका छन्
काठमाडौँ ,नेपालमा देखिएको ‘कोरोना भाइरस’ विश्वका अन्य मुलुकमा देखिएको जस्तो खतरनाक नभएको चिकित्सकहरुले बताएका छन् ।शनिबार राजधानीमा आयोजित कार्यक्रममा शुक्रराज ट्रपिकल एण्ड सरुवा रोग अस्पतालका चिकित्सक डा. शेरबहादुर पुनले प्रारम्भिक अध्ययनबाट विश्वका अन्य मुलुकमा देखिएजस्तो नेपालमा धेरे खतरा नभएको बताए । अमेरिका लगायतका मुलुकमा लेदिएको समस्या जस्तो नेपालमा धेरै कम खतरा रहेको उनले बताए ।
‘प्रारम्भिक नतिजामा चिन्ता गर्नुपर्ने विषय देखिएन । हाम्रोमा यो रोगका विषयमा धेरैलाई जानकारी नभएकोले पनि चिन्ता बढेको हो कि’, उनले भने, ‘चीनमा अहिलेसम्म १७ जनाको मृत्यु भएको पुष्टि भएको छ । तर मृत्यु हुनेमा सबै ७० वर्षभन्दा माथिका र दीर्घरोगी छन् । बालबालिका र युवाहरुमा ज्यानै जानेगरी संक्रमण देखिएको छैन ।’अस्पतालका अर्का चिकित्सक डा. बाशुदेव पाण्डेले सुरुमा स्वाइनफ्लुको जस्तै रुघाखोकी लाग्ने, ज्वर आउने र स्वासप्रस्वासमा समस्या देखिने जस्ता लक्षण देखिन सक्ने बताए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रदिप श्रेष्ठले चीनको वुहान प्रान्तबाट सुरुमा यो भाइरसको विस्तृत प्रकोप दर, यसका लक्षण र कति समयपछि असर गर्छ भन्ने कुराहरु अझै अध्ययनकै क्रममा रहेको बताए । विश्वभरी फैलिएको यो रोगका विषयमा धेरे प्रश्नहरु अनुत्तरित रहेको बताउँदै उनले नेपालमा फैलन सक्ने संक्रमणतर्फ मन्त्रालय सतर्क रहेको बताए ।
नेपालमा एकजनामा संक्रमण भेटिएको र उनको सम्पर्कका अन्य व्यक्तिहरुको सूची तयार गरी सबैको अवस्थाका विषयमा जानकारी लिने काम भइरहेको उनले बताए ।चीनसँग जोडिएका नाकाहरु र त्रिभुवन विमानस्थलमा चीनबाट आउने सबैको स्वास्थ्य परीक्षण गर्ने काम भइरहेको उनले जानकारी दिए ।कुनै व्यक्तिमा लक्षण देखिएमा शुक्रराज ट्रपिकल सेन्टर, पाटन अस्पताल लगायत अन्य नीजि तथा सरकारी अस्पतालमा उपचारको व्यवस्था गर्नेगरी मन्त्रालय अगाडि बढेको उनले बताए ।