मन्त्रालयले नै टेर्दैनन् संसदीय समितिको निर्देशन
काठमाडौं,राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले आफूले दिएको निर्देशन कार्यान्वयन नगरेको भन्दै विभिन्न मन्त्रालयलाई ताकेता गर्ने निर्णय गरेको छ। समितिको बुधबार बसेको बैठकले समितिले पटकपटक निर्देशन दिँदा पनि कार्यान्वयन नगरेको र कार्यान्वयनबारे जवाफ माग गर्दासमेत अटेर गरेको भन्दै विभिन्न मन्त्रालयलाई ताकेता गर्ने निणर्य गरेको हो।
समितिका सभापति रामनारायण बिडारीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कृषि तथा पशुपन्छी विकासलगायतका मन्त्रालयलाई निर्देशन दिएको लामो समयसम्म पनि कार्यान्वयन नगरेको भन्दै त्यसबारे मन्त्रीलाई नै समितिमा आमन्त्रण गरेर जानकारी लिने बताए।
समितिले आगामी बैठकमा गृहमन्त्रीलाई आमन्त्रण गरी आगामी वर्ष कम्तीमा १० वटा बोर्डर पोष्ट थप गर्ने र सीमा सुरक्षा तथा अपराध नियन्त्रण विशेष अभियान सञ्चालन गर्ने भनी दिएको सरकारी आश्वासनको सम्बन्धमा जानकारी लिने भएको छ। त्यसैगरी संस्कृति तथा नागरिक उडड्यनमन्त्री र अर्थमन्त्रीलाई समितिको बैठकमा आमन्त्रण गरी अन्तर्राष्ट्रिय पर्वतारोहण संग्रहालयको व्यवस्थापन सम्बन्धमा छलफल गर्ने भएको छ।
सभापति बिडारीले भने,’अखेटोपहार तथा पुराना वस्तुको संरक्षण गर्ने सम्बन्धमा गृहमन्त्रालय, रक्षा मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सम्बन्धित सचिव र शहरी विकास मन्त्रालयका सचिवसँग छलफल गर्ने निर्णय गरेको छ।’ समितिका सदस्य बलराम बाँस्कोटाले समितिले प्राप्त अधिकारलाई टेकेर तीव्र रुपमा काम गर्नुपर्नेमा जोड दिए।
सांसद नैनकला ओझा, बीना पोखरेल र नरपति लोहारले समितिले आगामी दिनमा राष्ट्रका लागि लाभदायक काम गर्नुपर्ने धारणा राखे। समितिले प्रत्यायोजन व्यवस्थापन विषयमा नेपाल बार एशोसिएशनलगायत संघ-संस्थासँग समेत छलफल गर्ने भएको छ।