काठमाडौं, संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको सभामुख पदका लागि अग्निप्रसाद सापकोटाको एकल उम्मेदवारी दर्ता भएको छ ।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को तर्फबाट सापकोटाको एक्लो उम्मेदवारी परेको हो ।नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको प्रस्ताव तथा नेकपाका प्रमुख सचेतक देव गुरुङ, नेकपाकै सांसद एवम् पूर्व सभामुख ओनसरी घर्ती र राजपा नेपालका सांसद लक्ष्मणलाल कर्णको समर्थनमा सापकोटाले सभामुखको उम्मेदवारी दर्ता गरेका हुन् ।
प्रतिनिधिसभाको दोस्रो ठूलो तथा प्रमुख प्रतिपक्षी दलले भने सभामुखमा उम्मेदवारी दिएन । मंगलबार बसेको कांग्रेस संसदीय दलको बैठकले सभामुखमा उम्मेदवार नदिने निर्णय गरेको थियो ।प्रतिनिधिसभाको दोस्रो ठूलो दल कांग्रेसले उम्मेदवार नउठाउने निर्णय गरेपछि सापकोटा निर्विरोध निर्वाचित हुने लगभग पक्का भएको छ ।
संघीय संसद सचिवालयले जारी गरेको निर्वाचन कार्यतालिकाअनुसार मंगलबार दिउँसो २ बजेसम्म मात्रै सभामुख पदका लागि उम्मेदवारी दर्ता गर्ने समय थियो ।उम्मेदवार दर्ता गर्ने समय सकिएसँगै संसद सचिवालयले सभामुख पदका लागि दर्ता भएका उम्मेदवारको अन्तिम सूची प्रकाशन गरेको छ ।प्रतिनिधिसभाको माघ १२ गते बस्ने बैठकमा सभामुख निर्वाचनका लागि उम्मेदवारहरुको प्रस्ताव निर्णयार्थ पेश गरिने छ ।एउटा मात्रै उम्मेदावरी परेका कारण माघ १२ गते बस्ने प्रतिनिधिसभा बैठकले सापकोटालाई निर्विरोध निर्वाचित भएको घोषणा गर्ने छ ।