अब सवारी चालक अनुमतिपत्र सुर्खेतबाटै
सुर्खेत, यातायात व्यवस्था विभागले सुर्खेतबाटै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण गर्न प्रदेश सरकार अन्तर्गतको यातायात व्यवस्था कार्यालयलाई अनुमति दिएको छ । विभागबाट अनुमति पाएसँगै कार्यालयले आइतबारदेखि अनलाइन आवेदन खुल्ला गरेको हो ।
यस अघि सवारी चालक अनुमतिपत्र लिन कर्णाली प्रदेशबाट प्रदेश ५ को नेपालगञ्जस्थित यातायात व्यवस्था कार्यालय जानुपर्ने बाध्यता थियो ।
प्रदेश सरकार गठन भएको झण्डै दुई वर्षपछि सुर्खेतबाट नै सवारी चालक अनुमति पत्र वितरण गर्न थालिएको हो । सुर्खेतबाटै लाइसेन्स वितरण हुने भएपछि कर्णालीवासीले खुशी व्यक्त गरेका छन् ।
यातायात व्यवस्था कार्यालय सुर्खेतका प्रमुख आनन्द चपाईले लाइसेन्स वितरणको व्यवस्थापकीय तयारीमा जुटिसकेको बताए ।
मन्त्रालयले करार सेवामा प्राविधिकतर्फका कर्मचारी छनोट गरेपछि सुर्खेतबाट सवारी चालक अनुमतिपत्र वितरण कार्य अघि बढाइएको हो ।