हिउँ पहिरोले मनास्लु पदमार्ग अबरुद्ध, स्थानीय त्रसित
गोरखा , लगातार परेको भारी हिमपातपछि प्रसिद्ध मनास्लु पदमार्गको बिभिन्न चार ठाउँमा पहिरो गएको छ। मनास्लु पदमार्गअन्तर्गत पर्ने चुमनुब्री गाउँपालिका २ स्थित तीन ठाउँमा र ४ स्थित एक ठाउँमा हिउँ पहिरो गएको हो।
गाउँपालिका २ का बिभिन्न तीन ठाउँमा हिउँ पहिरो गएको वडाध्यक्ष पेम्बारेता लामाले जानकारी दिए। ‘वडाको भर्जम गाउँभन्दा माथि, गाउँभन्दा तल र भर्जमथाङ्का भन्ने ठाउँमा हिउँ पहिरो गएको छ’ उनले भने। गाउँ नजिकै हिउँ पहिरो झरेपछि स्थानीय त्रसित भएको उनी बताउँछन्।
‘हिउँ पहिरो झरेपछि गाउँले डरले घरभित्रै बसिरहेका छन्’, उनले टेलिफोन सम्पर्कमा भने, ‘पहिरोका कारण बिभिन्न खतरा हुन सक्छ। त्यसैले मैले पनि सबै गाउँलेलाई घर बाहिर ननिस्कनु भनेको छु।’ वडाको नाम्रुङ गाउँभन्दा करिब पाँच सय मिटरमाथि बिहान करिब पौने १२ बजे हिउँ पहिरो खसेको वडा नं. ४ का अध्यक्ष पेमाडुण्डुप लामाले बताए। वडाध्यक्ष लामाका अनुसार पहिरो करिब पाँच सय मिटरमाथिबाट बुढीगण्डकी नदीमा खसेको थियो।
हिउँ पहिरोका कारण मनास्लु पदमार्ग अवरुद्ध लगातार परेको हिमपात पछि गएको हिउँ पहिरोका कारण मनास्लु पदमार्ग अवरुद्ध भएको चुमनुब्री गाउँपालिका ४ का वडा अध्यक्ष लामाले जानकारी दिए।‘आज दिउँसो करिब पौने १२ बजे धन्नै पाँच सय मिटर माथिदेखि बूढीगण्डकी नदीसम्म हिउँ पहिरो खसेको थियो’, उनले भने, ‘पहिरोले ठूलाठूला सल्लाका रुख पनि बगाएको छ।
त्यसैले पदमार्ग पनि अबरुद्ध भएको छ।’ जिल्ला प्रहरी कार्यालयका अनुसार पहिरोका कारण चुमनुब्री गाउँपालिकामा पर्ने ल्हो र प्रोकबीचको पदमार्ग अवरुद्ध भए पनि मानवीय क्षति भएको छैन। पहिरोबाट हुनसक्ने सम्भावित क्षति न्यूनीकरणका लागि लार्के प्रहरी चौकीका प्रहरी टोलीले पहिरो आसपास मान्छेलाई आवतजावत गर्न रोक लगाएको जिप्रका प्रमुख एसपी ओम अधिकारीले बताए।