मुगुको कुलाहामा जिप दुर्घटना हुँदा सातजना घाइते
मुगु,मुगु जिल्लाको उत्तरी सोरु गाउँपालिका-६, कुलाहामा जिप दुर्घटना हुँदा सातजना घाइते भएका छन्। सोरु गाँउपालिकाको केन्द्र सोरुकोटबाट सोही गाउँपालिकाको सिपतर्फ आउँदै गरेको लु. १ ज ३९५३ को जिप शुक्रबार दिउँसो १ बजे सडकबाट करिब ४५ मिटर तल खसेर दुर्घटना भएको हो।
घाइते हुनेहरूमा सोरु गाउँपालिका, गिलाहा गाउँकी दलना बम, बन्जाह गाउँका धर्मबहादुर मल्ल, लिब्रु गाउँकी कमला शाही, नुवाकोट गाउँकी दर्शनादेवी शाही, राष्ट्रिय वाणिज्य बैंक सोरुकोट शाखाका लेखापाल तेजिन्द्र आर्चाया, जुम्लाकी उषा भण्डारी र जिप चालक प्रकाश बश्याल रहेको छन्। घाइतेहरूलाई घटनास्थालबाट ट्याक्टरमार्फत उद्धार गरेर प्राथामिक उपचारका लागि सिप गाउँमा रहेको स्वास्थ्य केन्द्रमा ल्याइ उपचार भइरहेको अनमी सरिता शाहीले फोनमार्फत जानकारी दिइन्।
घाइतेहरूको थप उपचारका लागि जिल्ला सदरमुकाम गमगढीबाट जिल्ला अस्पतालको एम्बुलेन्स पठाइएको प्रहरी नायब उपरीक्षक भुवनेश्वर साहले बताए। घाइतेमध्ये कमला शाहीबाहेक अरू ६ जनालाई गम्भीर चोट लागेको उपचारमा संलग्न स्वास्थ्यकर्मी शाहीले बताइन्। जिप दुर्घटना भएको स्थान मुगुको सदरमुकाम गमगढीबाट सवारी साधनमा तीन घण्टा सडक दूरीमा रहेको छ।