एमसीसीको विरोध गर्ने तीनजना पक्राउ
भोजपुर । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरोध गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । एमसीसीको विरोध गरेको भन्दै भोजपुर नगरपालिका देउरालीका भीम राई, विदुर राई र नगेन्द्र तामाङलाई प्रहरीले पक्राउ गरेको हो । तीनै जनालाई माघ २ गते साँझ भोजपुरको देउराली चोकबाट प्रहरीले गिरफ्तार गर्न खोजेको थियो । तर, स्थानीयले प्रतिकार गरेपछि प्रहरी फर्किए पनि सोही राती उनीहरुलाई घरैमा सुतिरहेको बेला पक्राउ गरेको हो ।
स्थानीयले जिल्ला प्रहरी कार्यालय भोजपुरका डीएसपी नरबहादुर सलामी मगरलाई शान्तिपूर्ण प्रदर्शन गर्न दिन अनुरोध गरेका थिए । तर, उनले एमसीसीको विरोधमा उत्रिनेलाई थुन्नुपर्ने भन्दै पक्राउ गरिएको बताए । पक्राउ परेकाहरुले सदरमुकाम नजिकै देउराली चोकमा ‘नो एमसीसी’ लेखिएको ब्यानर टाँगेर विरोध गरेका थिए । पक्राउ परेकाहरुले प्रहरीलाई समेत गालीगलौज र अभद्र व्यवहार गरेपछि पक्राउ गरेको प्रहरीले जनाएको छ ।